काठमाडौं । सशस्त्र प्रहरीको टोली कालापानी क्षेत्रमा रहेको पिलर नम्बर १ मा पुगेको छ । भौगोलिक कठिनाइ छिचोल्दै सशस्त्र प्रहरीको टोली भारतले अतित्रमण गरेको नेपाली भूमि कालापानी क्षेत्रमा पुगेको सशस्त्र प्रहरीले जनाएको छ । दार्चुलाको ब्याँस गाउँपालिकास्थित छाङ्‍रुमा बोर्डर आउट पोस्ट स्थापना भएपछि पहिलो पटक सशस्त्र प्रहरीको टोली कालापानी क्षेत्रमा रहेको पिलर नम्बर १ मा पुगेको जानकारी दिइएको छ । असार ३ गते प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल छाङ्‍रु पुगेर फर्किए लगत्तै सशस्त्रको टोली सीमाक्षेत्रमा गस्ती गर्दै कालापनी क्षेत्रस्थित पिलर नम्बर १ मा पुगेको हो।

Nepal Telecome

एक महिनाअघि छाङ्‍रुमा बोर्डर आउट पोस्ट स्थापना भएपछि त्यस नजिकको क्षेत्रमा मात्रै सशस्त्रले गस्ती गर्दै आएको थियो। तर पहिलो पटक छाङ्‍रुबाट करिब ३० किलोमिटर पश्चिमको त्रिदेशीय सीमास्थित पिलर नम्बरसम्म गस्ती गर्दै सशस्त्रको टोली पुगेको हो। अहिले पनि हिउँ जमिरहेको उक्त ठाउँमा भौगोलिक कठिनाइका बावजुद सशस्त्रको टोली पुगेको हो। सरकारले गत जेठ ७ गते भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित समेटेर नयाँ नक्सा जारी गरिसकेको छ।

उक्त नक्सा संसदका दुवै सदनबाट पारित भएर राष्ट्रपतिबाट लालमोहर लागेपछि राजपत्रमा प्रकाशित भइसकेको छ। सरकारले भारत र चीन दुवैतर्फ आफ्नो सीमा क्षेत्रमा विशेष सतर्कता बढाएको छ। शनिबार मात्रै चीनसँग सीमा जोडिएको हुम्लाको हिस्सामा पनि बोर्डर आउट पोस्ट स्थापना गरिएको छ।