बाजुरा । बाजुरामा यो बर्ष समयमै पाठ्यपुस्तक पुगेका छन्। शैक्षिक सत्र सुरु नहुनु अगावै बाजुरामा पाठ्यपुस्तक पुगेका हुन् । अघिल्ला केही बर्षहरुमा समयमै पाठ्यपुस्तक नपुग्ने बाजुरामा पछिल्ला दुई तीन बर्षहरुमा भने समयमै पाठ्यपुस्तक पुग्ने गरेका छन् ।
जिल्लाका बिभिन्न बितरण केन्द्रमा समयमै पाठ्यपुस्तक पुगिसकेका छन् । पहिलेका बर्षहरुमा बर्ष वितिसक्दा समेत पाठ्यपुस्तक नपुग्ने बाजुरामा अघिल्ला दुई बर्ष र यो बर्षमा भने समयमै किताब पुगेका हुन्। समयमै पाठ्यपुस्तक पुग्दा विद्यार्थीहरू समेत निकै खुशी देखिएका छन् ।
जिल्लामा रहेका सामुदायिक विद्यालयका विद्यार्थीको संख्याका आधारमा शैक्षिक सत्र २०८३ को लागि कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई लक्षित गरेर शिक्षा मन्त्रालयको निर्णय बमोजिम नै पाठ्यपुस्तक आएको शिक्षा विकास तथा समन्वय इकार्ई बाजुराका प्रमुख लाल बहादुर बिष्टले जानकारी दिए ।
सदरमुकाम मार्तडीमा अहिले बडिमालिका,गौमुलका केहि बिद्यालय बुढीगंगा र खप्तड छेडेदहको केही विद्यालयको लागी आवश्यक पाठ्यपुस्तक जिल्ला सदरमुकाम मार्तडी आइपुगेको पाठ्यपुस्तक विक्री केन्द्र डेल्टा एण्ड करुणा पुस्तक पसलका सञ्चालक नृप बहादुर खातीले बताए ।
‘जिल्लाका सामुदायिक बिद्यालयको लागी आवश्यक पाठ्यपुस्तक बिक्री केन्द्रमा आईसकेका छन्,’उनले भने, ‘बाजुराका सबै पाठ्यपुस्तक विक्री केन्द्रमा पुस्तक पुगेर विक्रिवितरण कार्य चलेको छ।पर्याप्त पाठ्यपुस्तक आएको हुँदा पुस्तकको कमी हुने छैन । सम्पूर्ण विद्यालयले समयमै विक्री केन्द्रमा आएर आवश्यक पाठ्यपुस्तक लिई सहयोग गर्न अनुरोध छ ।’
साथै उनले आफ्नो विक्री केन्द्रबाट हालसम्म ११ बढी विद्यालयले पुस्तक लगेको बताउँदै पाठ्यपुस्तक विक्रिवितरण कार्य निरन्तर रहने जानकारी दिए । समयमै पाठ्यपुस्तक पुग्दा विद्यार्थीहरुलाई भर्ना संगसंगै हातमै पुस्तक दिन सहज हुने बालमन्दिर आधारभूत विद्यालयका शिक्षक कठक बहादुर रोकायाले बताए ।
पछिल्लो दुई शैक्षिक सत्रमा समयमै पाठ्यपुस्तक पुग्दा विद्यार्थीको सिकाई र शिक्षा क्षेत्रमा समेत सुधार भएको उनको भनाई रहेको छ । शैक्षिक सत्र सुरु हुनु करिब एक हप्ता बाँकी रहे पनि बिभिन्न पाठ्यपुस्तक बिक्री केन्द्रमा पाठ्यपुस्तक पुगेका हुन् ।
जनक शिक्षाले समयमै नयाँ शैक्षिक शत्र सुरु हुनुभन्दा पहिले नै मुलुकका विभिन्न वितरण केन्द्रमा पाठ्य पुस्तक पु¥याइसकेको छ । सरकारले बाजुरासहित हिमाली तथा पहाडी जिल्लालाई बिषेष प्रथामिकतामा राखेर समयमै पाठ्यपुस्तक पुर्याउने लक्ष्य राखेसंगै सोही अनुरुप बाजुरासहित अन्य सुदुरका जिल्लाहरुमा समयमै पाठ्यपुस्तक पुगेका छन् ।
जिल्लामा २ सय ३७ ओटा सामुदायिक विद्यालयहरु सञ्चालनमा रहेको जिल्ला शिक्षा तथा समन्वय इकाई बाजुराले जनाएको छ । जिल्लाका ९ वटै पालिकाका सामुदायिक विद्यालयमा शैक्षिक सत्र सुरु हुनु अगावै पाठ्यपुस्तक पुग्ने गरेको भएपनि शैक्षिक गुणस्तरमा भने सुधार नभएको शिक्षा विकास तथा समन्वय इकाई बाजुराले जनाएको छ ।

