रौतहट । रौतहटका विभिन्न मालपोत कार्यालयमा कार्यरत लेखापढी व्यवसायीहरूलाई राज्य पक्षले बिना प्रमाण पक्राउ गरेको भन्दै पेशागत संघ–संस्थाहरूले कडा आपत्ति जनाएका छन् । गौर र चन्द्रपुरबाट पक्राउ परेका पाँच जना व्यवसायीको रिहाइको माग गर्दै उनीहरूले बिहीबार जिल्ला प्रशासन कार्यालय, रौतहटमा ज्ञापनपत्र बुझाएका हुन् ।
मालपोत कार्यालय गौरबाट चार जना र चन्द्रपुरबाट एक जना गरी पाँच जना लेखापढी व्यवसायीलाई नियन्त्रणमा लिएर थुनामा राखिएको घटनाप्रति व्यवसायीहरूले आक्रोश पोखेका छन् । पक्राउ परेकाहरूलाई कुनै ठोस प्रमाण बिना नै नियन्त्रणमा लिइएको दाबी गर्दै उनीहरूले विनासर्त यथाशीघ्र रिहा गर्न प्रशासनसँग जोडदार माग गरेका छन् ।
व्यवसायीहरूका अनुसार उनीहरू अदालतबाट वैधानिक रूपमा लाइसेन्स प्राप्त गरी मालपोत कार्यालय मार्फत भू–सेवा केन्द्र सञ्चालन गर्दै आएका छन् । सेवाग्राहीको कामकाजमा सहजीकरण गरिरहेको अवस्थामा अचानक गरिएको धरपकडले व्यवसायीहरूको सामाजिक प्रतिष्ठा र पेशागत मर्यादामा आँच पुर्याएको उनीहरूको गुनासो छ ।
यस विषयमा लेखापढी व्यवसायी एसोसिएशन गौर, चन्द्रपुर, गरुडा र मौलापुर इकाइ समितिहरूको संयुक्त बैठकले आन्दोलन र दबाबका कार्यक्रम गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार नेपाल लेखापढी कानून व्यवसायी एसोसिएशन गौरका अध्यक्ष हरिनारायण साह, चन्द्रपुर इकाई अध्यक्ष दिननारायण चौधरी, गरुडा इकाई अध्यक्ष हेमलाल साह र मौलापुर इकाई अध्यक्ष बालेकिस्मत यादव लगायतको टोलीले प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई भेटी ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र मार्फत व्यवसायीहरूले सम्बन्धित निकायसँग समन्वय गरी समस्याको छिटो समाधान गर्न र आगामी दिनमा यस्ता अपमानजनक घटनाहरू दोहोरिन नदिन प्रशासनको ध्यानाकर्षण गराएका छन् । माग पूरा नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी समेत व्यवसायीहरूले दिएका छन् ।

