काठमाडौँ । अरुण क्षेत्री र सिम्रन खड्काको मुख्य अभिनय रहेको नेपाली फिल्म ‘गौँथली’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।
सार्वजनिक दुई पोस्टर मध्ये एकमा अरुण र सिम्रन छन् भने अर्कोमा सिम्रन एक्लै छिन् । यी दुई पोस्टरले फिल्मको सेटअप ग्रामिण भेगमा रहेको प्रस्ट्याउँछ । फिल्ममा अरुण र सिम्रन दुलाहा–दुलहीको भेषमा छन् ।
यद्यपि दुईको जोडी अनौठो र असामान्य देखिएको छ । अरुण खुसी देखिँदा सिम्रन भने दुखी देखिएकी छिन् । सिम्रन एकल रहेको पोस्टरमा उनी डोकोमा स्याउला बोकेर हिँडिरहेकी छन् । खाली खुट्टा रहेकी उनी डोकोमा स्याउला बोकेर हिँडिरहेकी छिन् । तर, उनी पढिरहेकी छन् । यी दुई पोस्टरले फिल्मको कथासारलाई ब्याख्या गर्ने डा कपिल रिजालले बताए ।
उनका अनुसार फिल्मले ग्रामिण भेगको प्रेमकथानकलाई चित्रण गरेको छ । आगामी साउन १ गतेदेखि प्रदर्शन हुने फिल्म ‘गौँथली’ बाट अरुण आफ्नो परिचय फेरिनेमा विश्वस्त छन् । ‘महापुरूष’ मार्फत अभिनय यात्राको सुरुआत गरेका अरुणलाई यसपटक आफ्नो लभरब्वाईको छवि भन्दा बाहिर देखिएको छ । आफूले गरेको भन्दा भिन्न र च्यालेन्जीङ क्यारेक्टर फिल्ममा रहेको अरुणले बताए ।
‘यो फिल्ममा मैले यसअघि गरेका क्यारेक्टरको तुलनामा भिन्न छ । यसका लागि मैले शारीरिकसँगै मानसिक रुपमा समेत तयारी गरेको छु । मेरो क्यारेक्टरको बारेमा अहिले धेरै कुरा गर्न मिल्दैन तर यसपटक दर्शकले फरक अरुणलाई देख्नु हुनेछु’ उनले भने ।
फिल्ममा अरुण र सिम्रनसँगै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना, राजेन्द्र नेपाली लगायतको अभिनय रहेको छ । यसमा बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।
डा.भोला रिजालको कथा रहेको उक्त फिल्मको पटकथा तथा संवाद लेखनमा निर्देशक डा.कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन् । ‘गौँथली’को प्रतीकात्मक अर्थ घर, परिवार र आपसी सामीप्यता हुन्छ ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस फिल्मको कार्यकारी निर्माता सरला रिजाल हुन् । निर्माताको रूपमा सुमन गिरी र डा.कपिल रिजाल छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह(निर्माताको रूपमा रहेका छन् ।
शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको फिल्ममा पाश्र्व संगीत एलिस कार्कीको रहेको छ । यसलाई हरि हुमागाईंले खिचेका हुन् भने मिलन श्रेष्ठले सम्पादन गरेका छन् ।
गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको यसमा आर्यन अधिकारी र बुद्धि नेपाली सहायक निर्देशक, मुकेश शाहको ध्वनि मिश्रण, राजेन्द्र मोक्तानको रङ संयोजन, रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी रहेको छ ।
रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ।डी। कम्पनीले वितरण गर्ने यस फिल्मको डिजिटल पार्टनर ‘ओएसआर डिजिटल’ रहेको छ । ‘गौँथली’ शिर्षकमै डा.भोला रिजालले दुई दशकअघि फिल्म निर्माण गरिसकेका छन् । उक्त फिल्मलाई नेपालको पहिलो ‘गीति फिल्म’ (म्युजिकल फिल्म)मानिन्छ ।


