आइतबार आयोजित नगरसभाको १९औँ अधिवेशन बैठकमा आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कार्यवाहक महानगर प्रमुख सुनिता डंगोलले ‘प्रदूषकले तिर्ने’ सिद्धान्तअनुसार फोहोरमैला व्यवस्थापन सेवा शुल्क संकलनको व्यवस्था गरिने जानकारी दिइन् ।
उनले भनिन्, ‘फोहोरमैला व्यवस्थापन सेवा शुल्कलाई प्रदुषकले तिर्ने सिद्धान्त अनुरुप एकद्वार प्रणाली मार्फत शुल्क संकलन गर्ने व्यवस्था मिलाइने छ ।’
उनका अनुसार बन्चरेडाँडा डम्पिङ साइटमा फोहोर विसर्जन गर्ने प्रत्येक स्थानीय तहबाट फोहोरको परिमाण र प्रकृतिका आधारमा द्वितीय साझेदारीको व्यवस्था गर्न पहल गरिनेछ ।
महानगरले फोहोरमैला व्यवस्थापनसम्बन्धी सूचना तथा विवरणलाई अनलाइन एपमार्फत उपलब्ध गराउने योजना पनि अघि सारेको छ । यसबाट महानगरपालिका, सम्बन्धित कार्यालय, सेवा प्रदायक तथा सेवाग्राहीबीच आवश्यक जानकारी सहज रूपमा आदानप्रदान हुने अपेक्षा गरिएको छ ।
उनले भनिन्, ‘बञ्चरेडाँडा डम्पिङ साइटमा फोहोरमैला विसर्जन गर्ने प्रत्येक स्थानीय तहबाट फोहोरको परिमाण र प्रकृतिका आधारमा द्विपक्षीय साझेदारी गर्न पहल गर्नेछौँ। फोहोरमैला व्यवस्थापनलाई अनलाइन एपका माध्यमबाट सूचना र विवरण महानगरपालिका, सम्बन्धित कार्यालय, सेवा प्रदायक र सेवाग्राहीको पहुँचमा हुने विशेष प्रबन्ध मिलाइनेछ ।’
नीति तथा कार्यक्रममा वायु, जल, जमिन, ध्वनि तथा दृश्य प्रदूषण नियन्त्रणका लागि उपयुक्त प्रविधिको प्रयोग गरिने उल्लेख गरिएको छ । साथै वातावरण संरक्षण, प्रदूषण नियन्त्रण तथा न्यूनीकरणका कार्यक्रम संघ, प्रदेश, स्थानीय सरोकारवाला निकाय तथा विज्ञहरूसँगको समन्वय, सहकार्य र साझेदारीमा सञ्चालन गरिने उनको भनाई छ ।
उनले भनिन्, ‘उचित प्रविधिको प्रयोग गरी वायु, जल, जमिन, ध्वनि, दृश्य आदि प्रदूषणको नियन्त्रण गरिनेछ । संघ, प्रदेश तथा अन्य स्थानीय सरोकारवाला निकायहरू र विज्ञहरूसँग समन्वय, सहकार्य र साझेदारीमा वातावरण संरक्षण तथा प्रदूषण नियन्त्रण एवं न्यूनीकरणका कार्यक्रमहरू सञ्चालन गरिनेछन्।’
महानगरपालिकाले आगामी वर्ष वातावरणीय सुधार, आधुनिक फोहोर व्यवस्थापन र प्रदूषण नियन्त्रणलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम कार्यान्वयन गर्ने लक्ष्य लिएको छ ।



