काठमाडौं । अमेरिका र इरानबीच हालै भएको समझदारीपत्र (एमओयू) पछि पश्चिम एसियामा जारी तनाव अन्त्य गर्ने उद्देश्यले नयाँ चरणको वार्ताको तयारी तीव्र भएको छ । यसका लागि अमेरिकी विशेष दूत स्टिभ विटकोफ स्विट्जरल्यान्डतर्फ प्रस्थान गरेका छन् । अमेरिकी सञ्चारमाध्यम एक्सियोसका अनुसार स्विट्जरल्यान्डमा अमेरिका–इरानबीच सम्भावित आणविक सम्झौताका विषयमा पहिलो चरणको वार्ता हुने तयारी भइरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका वरिष्ठ सल्लाहकार तथा ज्वाइँ जारेड कुशनर पनि वार्ताको पूर्वतयारीका लागि स्विट्जरल्यान्ड पुगिसकेका छन् ।

शुक्रबारदेखि सुरु हुने भनिएको वार्ता इजरायल र लेबनानस्थित हिजबुल्लाहबीचको द्वन्द्वका कारण स्थगित भएको थियो । तर पछिल्लो समय दुवै पक्षबीच युद्धविराम कायम भएपछि वार्तालाई पुनः अघि बढाउने प्रयास तीव्र भएको बताइएको छ ।

सीएनएनका अनुसार अमेरिका र कतारको मध्यस्थतामा इजरायल र हिजबुल्लाहबीच युद्धविराम पुनः लागू गर्ने सहमति भएको छ । अर्को कूटनीतिक स्रोतका अनुसार उक्त प्रक्रियामा इरानले पनि भूमिका खेलेको जनाएको छ । इरानी विदेशमन्त्री अब्बास अराघची पनि शनिबार स्विट्जरल्यान्ड पुगेर वार्तामा सहभागी हुने तयारीमा रहेको एक्सियोसले जनाएको छ । यद्यपि लेबनानको सुरक्षा अवस्था र युद्धविरामको प्रभावकारिताका आधारमा उनको भ्रमण योजना परिवर्तन हुन सक्ने सम्भावना रहेको बताइएको छ ।

Nepal Telecome