" /> हिन्दू राष्ट्र र राजतन्त्रको पक्षमा प्रदर्शन, क–कसले साथ दिएका छन् त ? – News of Global

News of Global बुधबार, मंसिर १७, २०७७

काठमाडौं । नेपालमा राजतन्त्रको विधिवत अन्त भएको १२ वर्ष भएको छ । तर, केही दिनयता देशका प्रमुख शहरहरुमा राजतन्त्रको पक्षमा प्रदर्शनहरु भइरहेका छन् । सोमबार काठमाडौंमा पनि राजतन्त्रको माग गर्दै प्रदर्शन भयो ।

संविधान सभाको पहिलो बैठकले २०६४ मा राजतन्त्रको अन्त्यको घोषणा गर्दै विधिवतरुपमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको घोषणा गरेको थियो । त्यहीबेलादेखि असन्तुष्ट राजतन्त्रवादीहरुले राजतन्त्र र हिन्दु राष्ट्र पुनस्र्थापनाको माग गर्दै आइरहेका छन् । अहिले १२ वर्ष बितिसक्दा पनि राजतन्त्र र हिन्दु राष्ट्रको माग राख्ने क्रम रोकिएको छैन ।

राजावादीहरुले प्रदर्शन गरिरहँदा राजा ज्ञानेन्द्र भने मौन छन् । तर अघिल्लो वर्ष भने उनले देशका विभिन्न भागको भ्रमण गरेका थिए ।

राजतन्त्रको अन्त्य भएपछि मुलुकमा तीनवटा राष्ट्रिय निर्वाचनहरु भए । तर, ती सबै निर्वाचनमा राजतन्त्रको वकालत गर्ने दलहरुले खासै मत पाएनन् । नयाँ संविधान जारी भएपछि भएको संघीय संसदको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङदेन एकजनाले मात्र निर्वाचन जिते, त्यो पनि नेकपा कार्यकर्ताको भोटले । राजतन्त्रको माग गर्ने राप्रपाका ठूला नेताहरुले नै चुनाव जित्न सकेनन् ।

राजतन्त्रको पक्षमा रहेका समाजका विभिन्न व्यक्ति र विगतमा राजतन्त्रको कार्यकालमा विभिन्न पदमा रहेर काम गरेका व्यक्तिहरुको पहलमा यस्ता प्रदर्शनहरु हुने गरेका छन्
संघ र प्रदेशमा मात्र होइन, स्थानीय सरकारमा पनि राजावादी दलहरुको प्रतिनिधित्व छैन । तर, जनताबाट कटिँदै जाँदा पनि अझैसम्म राजावादी दल र अन्य संस्थाहरुको राजतन्त्र पुनर्स्थापना हुने आश मारिसकेका छैनन् । पछिल्लो समया बढ्दो भ्रष्टाचार र असन्तुष्टिलाई उनीहरु ‘क्यास’ गर्न खोजेको देखिन्छ ।

कसले गर्दैछ प्रदर्शन ?

केही दिनयता देशका प्रमुख शहरहरुमा राजतन्त्रको पक्षमा प्रदर्शनहरु भइरहेका छन् । नेपालमा पछिल्लो समयमा दुई छिमेकी मुलुक भारत र चीनबाट उच्च स्तरमा भएका निरन्तर भ्रमण, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र बढ्दो द्वन्द्व र वर्तमान सरकारले सुशासन कायम राख्न नसकेको भनी तीव्र आलोचना भइरहेको सन्दर्भमा राजावादीहरुले प्रदर्शन अगाडि बढाएका छन् ।

अहिलेको प्रदर्शनमा फ्रन्ट लाइनमा रहेकाहरुमा विश्व हिन्दु महासंघ, केशर बहादुर विष्टको राष्ट्रिय शक्ति नेपाल, हरिवोल भट्टराईले नेतृत्व गरेको नेपाली कांग्रग्रेस (वीपी), प्रकाश कोइरालाले नेतृत्व गरेको नेपाली कांग्रेस (राष्ट्रवादी) र शिवसेना नेपाल लगायतका छन् ।

त्यसैगरी राजतन्त्रको पक्षमा रहेका समाजका विभिन्न व्यक्ति र विगतमा राजतन्त्रको कार्यकालमा विभिन्न पदमा रहेर काम गरेका व्यक्तिहरुको पहलमा यस्ता प्रदर्शनहरु हुने गरेका छन् ।

सोमबार राष्ट्रिय शक्ति नेपालको उपत्यका आन्दोलन परिचालन समितिले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरे । सो पार्टीका अध्यक्ष केशरबहादुर विष्ट हुन् । यस अगाडि विभिन्न संस्थाहरुले बुटवल, पोखरा, जनकपुर र नेपालगञ्चमा, धनगढी, विराटनगरमा प्रदर्शन गरेका छन् ।

राजतन्त्रवादी साना दलहरु र हिन्दु राष्ट्र राष्ट्रको माग गरिरहेका विभिन्न संस्थाहरुले स्वस्फूर्त रुपमा यसखाले प्रदर्शन गरिरहेका छन् । त्यसबाहेक प्रदर्शनकै लागि केही अस्थायी समूहहरु समेत गठन भएका छन् । जस्तो– धनगढीमा स्वतन्त्र देशभक्त नागरिक सुदूरपश्चिममा स्वतन्त्र देशभक्त नागरिक सुदूरपश्चिम गठन गरिएको थियो । त्यसैगरी, कात्तिक २५ गते काठमाडौंमा भएको प्रदर्शन राष्ट्रवादी नागरिक समाजको ब्यानरमा भएको थियो ।

आगामी २० गते र त्यसपछि पनि विभिन्न समूहले काठमाडौंमा थप प्रदर्शन गर्ने तयारी गरेका छन् । २० गतेको प्रदर्शनको पहल बालकृष्ण न्यौपाने, सुरेन्द्र भण्डारी लगायतले गर्दैछन् ।

अहिले भइरहेका प्रदर्शनमा युवाहरुमा सडकमा ल्याउने पहल भने वीर गोर्खाली नामक संस्थाले गरेको छ । सो संस्था राजतन्त्र र हिन्दु राष्ट्र पुर्नस्थापना गर्न चाहने युवाहरुको संस्था हो । अहिले पछिल्लो समयमा देशका विभिन्न भागमा भइरहेका प्रदर्शनको अगुवाइ सो संस्थाले गरेको छ । आइतबार मकवानपुरमा भएको प्रदर्शनको नेतृत्व पनि यही वीर गोर्खालीले गरेको थियो ।

देशभर भएको प्रदर्शनमा सक्रिय सहभागिता जनाएको विश्व हिन्दु महासंघकी महासचिव अस्मिता भण्डारी पछिल्लो समयमा जनतामा व्यापक निराशा छाएको र दलहरुले शासन सञ्चालन गर्न नसकेका कारण राजतन्त्रको माग बढ्दै गएको बताउँछिन् । उनी भन्छिन्, ‘अब हामी मोर्चावन्दीको तयारीमा छौं, अब सबै संस्थाले संयुक्त रुपमा आन्दोलन गर्नेछन् ।’

अब हामी पनि प्रदर्शनमा उत्रन्छौँः राप्रपा

राजतन्त्रको पुर्नस्थापना र हिन्दु राष्ट्रको माग गरिरहेको सबैभन्दा ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी भने सो आन्दोलनमा अहिलेसम्म प्रत्यक्षरुपमा संलग्न छैन । यद्यपि आफ्ना कार्यकर्ताहरु यी प्रदर्शनहरुमा सहभागी भइरहेको सो पार्टीले बताएको छ ।

विभिन्न संघ संस्थाहरुको ब्यानरमा भएको प्रदर्शनमा जनताको सहभागिता बढ्दै गएपछि राप्रपाले पनि सडकमा आउने तयारी गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं सांसद राजेन्द्र लिङदेनले अब देशव्यापी रुपमा भइरहेको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै प्रदर्शनमा आउन लागेको जानकारी दिए ।

नेकपाको भोटबाट संसदमा पुगेका लिङदेनले भने, ‘यो आन्दोलनप्रति ऐक्यवद्धता जनाउन आगामी २० गते झापामा वृहत प्रदर्शन गर्दैछौं । त्यसपछि पार्टी आधिकारिक निर्णय गरेर अन्य स्थानमा पनि प्रदर्शन गर्छ ।’

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]