काठमाडौं । अमेरिकाको मेरिल्याण्ड राज्यको निर्वाचन ७ ए बाट हाउस अफ डेलिगेट्सको प्राईमरीमा उमेद्वार रहेका नेपाली मूलका युवा सतीश चापागाईं विजयी भएका छन् ।

चापागाईले मेरिल्याण्ड राज्य अन्तर्गत डिष्ट्रिक्ट सेभेन ए का लागि डेमोक्रेटिक पार्टीबाट प्राईमरीमा उम्मेदवार बनेका थिए ।

Nepal Telecome

यो उनको आफ्नै पार्टीभित्र प्राईमरी निर्वाचन हो । जुन २३ मा सम्पन्न निर्वाचनको ९९ प्रतिशत मतगणना हुंदा चापागाईले अन्य दुई प्रतिस्पर्धीलाई पछाडि पार्दै दास्रो स्थान सुरक्षित गरेका हुन् ।

उनले खसेको कुल १० हजार ४ सय २ मतमध्ये २ हजार ७ सय १८मत प्राप्त गरेका छन् । यो जितसंगै अब चापागाईले नोभेम्बरमा रिपब्लिकन उमेद्वारहरुसंग फेरि चुनाव लड्नुपर्ने हुन्छ ।

उनका मुख्य प्राथमिकतामा ‘अफर्टएबल मेरिल्याण्ड, सेफ कम्युनिटीज र स्ट्रङ विजिनेस’ रहेका छन्। बढ्दो महँगी नियन्त्रण, सुरक्षित समाज निर्माण र स्थानीय व्यवसायलाई थप सशक्त बनाउने विषयलाई उनले आफ्नो चुनावी एजेन्डाको केन्द्रमा राखेका छन् ।

चापागाईं हाल डेमोक्रेटिक पार्टीको मेरिल्याण्ड राज्यको निर्वाचित केन्द्रिय सदस्यसमेत हुन्। यसले स्थानीय राजनीतिक क्षेत्रमा उनको सक्रियता र अनुभवलाई झन् स्पष्ट बनाएको छ।

राजनीतिसँगै उनी सामाजिक, शैक्षिक र व्यवसायिक क्षेत्रमा पनि उत्तिकै सक्रिय रहेका छन् ।

उनी साना व्यवसायीका रूपमा स्थापित हुनुका साथै बाल्टिमोर काउण्टि पब्लिक स्रपयुलमा दोभाषेका रूपमा कार्यरत छन्। साथै विभिन्न सामाजिक तथा सामुदायिक संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्।

चापागाईंले श्रमिक परिवार, कमजोर वर्ग र समुदायका आवाजलाई प्राथमिकतामा राख्दै सार्वजनिक सहभागिता र सामाजिक न्यायका पक्षमा निरन्तर वकालत गर्दै आएको दाबी गरेका छन्।

उनी समुदायसँग प्रत्यक्ष जोडिएर काम गर्ने र व्यवहारिक समाधान खोज्ने नेतृत्वको रूपमा आफूलाई प्रस्तुत गर्दै आएका छन्।

राजनीति र सामाजिक सेवासँगै चापागाईं साहित्यिक क्षेत्रमा पनि सक्रिय रहेको उल्लेख गरिएको छ । प्रचार सामग्रीमा उनलाई आफुलाई सम्पादक, कवि तथा गीतकारका रूपमा परिचय दिइएको छ, जसले उनको बहुआयामिक व्यक्तित्वलाई झल्काउँछ । एनआरएनए अमेरिकामा दुई पटक मिडिया कोअर्डिनेटर भईसकेका चापागाई अहिले सल्लाहकार छन् ।

अमेरिकामा नेपाली मूलका व्यक्तिहरू क्रमशः स्थानीय राजनीतिमा सक्रिय बन्दै गएको सन्दर्भमा चापागाईंको उम्मेदवारीलाई एउटा सकारात्मक संकेतका रूपमा हेरिएको छ।

उनको उम्मेदवारीले केवल व्यक्तिगत राजनीतिक यात्रा मात्र नभई नेपाली समुदायको प्रतिनिधित्व र सहभागितालाई अझ सशक्त बनाउने विश्वास गरिएको छ।