काठमाडौँ । नेपाली फिल्म ‘आशा’ को छायांकन औपचारिक रूपमा सुरु भएको छ। उडान स्टुडियोको प्रस्तुति रहेको यो फिल्म एक महिनाको छायांकन तालिकासहित फ्लोरमा गएको हो।
फिल्मको पहिलो दिनको छायांकन काठमाडौं उपत्यकामा गरिएको छ। केही दिन उपत्यकामा छायांकन गरेपछि नमोबुद्ध र धुलिखेल आसपासका क्षेत्रमा बाँकी दृश्य खिचिने निर्मात्री शर्मिला थापा ले जानकारी दिइन्।
उनका अनुसार साउन महिनाभित्र सम्पूर्ण छायांकन सक्ने लक्ष्य राखिएको छ। “हामी नेपालीपन झल्किने कथालाई प्राविधिक रूपमा उत्कृष्ट बनाएर दर्शकमाझ ल्याउने प्रयासमा छौँ,” उनले भनिन्।

छायांकनको पहिलो दिन अभिनेता शुशांक मैनाली तथा बालकलाकार चिराग श्रेष्ठ र काश्वी भण्डारी क्यामेराअघि उत्रिएका थिए।
फिल्ममा शुशांकसँगै महेश त्रिपाठी, अन्जना बराइली, सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह र कविता रेग्मी लगायत कलाकारको अभिनय रहनेछ।
फिल्मको निर्देशन राजिव गुरुङ ले गरिरहेका छन्। निर्देशक गुरुङले मनोरञ्जनसँगै अर्थपूर्ण सन्देश दिने उद्देश्यले फिल्म निर्माण भइरहेको बताए।

Nepal Telecome

“यो कथा पर्दामार्फत दर्शक हुँदै परिवारसम्म पुग्नुपर्छ भन्ने सोचले फिल्म बनाइरहेका छौँ। मन छुने पारिवारिक कथामा आधारित चलचित्र तयार हुँदैछ,” उनले भने।
फिल्ममा रामकुमार श्रेष्ठ सह–लेखक तथा मुख्य सहायक निर्देशक, सुदाम सिके स्क्रिप्ट सुपरभाइजर तथा कास्टिङ निर्देशक, नरेन्द्र मैनाली सिनेम्याटोग्राफर, युग भुसाल र समीर खरेल संगीतकार, किशोर आचार्य साउण्ड डिजाइनर, लोकेश बज्राचार्य सम्पादक तथा सोनाली शिल्पकार मेकअप तथा हेयर आर्टिस्ट रहेका छन्।

त्यसैगरी शान्ति तामाङ सहायक निर्देशक, अरुण रेग्मी प्रोडक्सन म्यानेजर, रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट) पब्लिसिटी डिजाइनर तथा करण श्रेष्ठ (रीच इन्टरटेनमेन्ट) वितरक रहेका छन्। फिल्म आगामी माघ १ गते (माघे संक्रान्ति) देशभर प्रदर्शन गर्ने तयारी गरिएको छ।