काठमाडौं ।नेपाली लोक संगीत क्षेत्रका लोकप्रिय गायक तथा ‘दोहोरी च्याम्पियन’ विजेता प्रकाश पराजुली र चर्चित लोकदोहोरी गायिका देवी घर्ती मगरको सुमधुर आवाजमा तयार पारिएको तीज गीत ‘म्वाइँखाँदै’ भिडियोसहित सार्वजनिक भएको छ। तीजको अवसरमा बजारमा आउने भड्किला र रमाइला गीतहरूभन्दा पृथक शैलीमा निर्माण गरिएको गीत हो ‘म्वाइँखाँदै’ । यस गीतले नेपाली समाजमा नारीहरूले भोग्नुपर्ने वास्तविक संघर्ष, पारिवारिक पीडा र सहनशीलतालाई मर्मस्पर्शी रूपमा प्रस्तुत गरेको छ।
गायक प्रकाश पराजुलीकै शब्द तथा संगीत सिर्जना रहेको यस गीतमा विवाह गरेर गएकी छोरीले माइती पुग्दा आमासँग व्यक्त गर्ने मनका भावना र वेदनाहरूलाई समेटिएको छ। गीतको शब्दले बाहिरबाट हेर्दा सुखी देखिने दाम्पत्य जीवनभित्र लुकेका आन्तरिक पीडा र नारीको सहनशीलताको उजागर गर्दछ। कृष्ण केसीको उत्कृष्ट संगीत संयोजन रहेको भने खडक बाजुरालीले मिक्सिङ गरेका छन् । मालाश्री स्टुडियोमा रेकर्डिङ भएको यस गीतको अडियो पक्ष निकै बलियो र सुमधुर बनेको छ।
‘म्वाइँखाँदै’ गीतको अर्को विशेष र आकर्षक पक्ष भनेको यसको म्युजिक भिडियो हो । जसमा गायक प्रकाश पराजुली स्वयं र उनकी जीवनसंगीनी प्रिया अधिकारीले मुख्य भूमिकामा अभिनय गरेका छन्। भिडियोमा उनीहरूका साथै कलाकार हिउँवाला गौतमको पनि सशक्त अभिनय देख्न सकिन्छ। पराजुली दम्पतीको प्राकृतिक र जीवन्त अभिनयले गीतको भावनालाई दर्शकको मनसम्म पुर्याउन ठूलो भूमिका खेलेको छ।
उत्कृष्ट दृश्य संयोजन र निर्देशकीय कलाले भरिएको यो भिडियो जेरी भण्डारीको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको हो। भिडियोको छायाँकन पवन सुस्लिङको रहेको छ भने सुजन कोइरालाको सम्पादन रहेको छ । भिडियोलाई मन्जरी क्रियशन प्रालिले निर्माण गरेको भने प्रकाश पराजुलीको अफिसियल यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।



