काठमाडौं । गायिका तथा सर्जक उमा बिडारीको नयाँ तीज गीत ‘म कस्ती देखिए’ सार्वजनिक भएको छ। हरितालिका तीजलाई लक्षित गर्दै सार्वजनिक गरिएको गीतमा नेपाली महिलाको भावना, संस्कार, मौलिकता र सांस्कृतिक पक्षलाई समेटिएको छ।

उमा बिडारीकै शब्द, संगीत र स्वर रहेको गीतमा तीज पर्वसँग जोडिएका महिलाका रहर, चाहना, उत्साह, उमंग तथा दिदीबहिनीबीचको आत्मीयतालाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ। गीतको म्युजिक भिडियोमा गायिका बिडारीका छोरीहरूको समेत सुन्दर अभिनय देख्न सकिन्छ।

Nepal Telecome

गीतको संगीत संयोजन सबिर कार्कीले गरेका छन् भने अडियो रेकर्डिङ अभि शर्माले गरेका हुन्। मिक्सिङ तथा मास्टरिङ गोविन्द सोनीले गरेका छन्। गीत हुरी स्टुडियोमा रेकर्ड गरिएको हो।

गीत निर्माणमा दिपा खनाल, सरु न्यौपाने र वर्षा भण्डारीको विशेष सहयोग रहेको छ। तीजको सांस्कृतिक परिवेश र नारीका भावनालाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने उद्देश्यले गीतको शब्द, संगीत र प्रस्तुतिलाई संयोजन गरिएको निर्माण पक्षले जनाएको छ।

‘म कस्ती देखिए’ को भिडियो निर्देशन, कोरियोग्राफी तथा छायांकन टेक राज पोखरेलले गरेका हुन्। भिडियो निर्माणमा कोहिनुर मिडिया हब प्रालि आबद्ध रहेको छ। भिडियोमा तीजको सांस्कृतिक माहोल, नेपाली मौलिक पहिरन तथा मौलिक नृत्यलाई आकर्षक रूपमा प्रस्तुत गरिएको छ।

परम्परागत तीज गीतको मौलिकतालाई कायम राख्दै नयाँ पुस्ताले समेत रुचाउने शैलीमा गीत तयार गरिएको निर्माण पक्षको भनाइ छ। दिदीबहिनीका रहर, चाहना र भावनालाई केन्द्रमा राखिएकाले ‘म कस्ती देखिए’ ले यस वर्षको तीजमा दर्शक तथा श्रोताको मन जित्ने अपेक्षा गरिएको छ।

गायिका उमा बिडारीले गीतको भिडियो हेरेर लाइक, सेयर तथा कमेन्टमार्फत आफूलाई साथ दिन दर्शक–श्रोतासँग आग्रह गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले लेखेकी छन्, ‘तपाईंहरूको एउटा सेयर, एउटा लाइक, एउटा कमेन्टले कसैको केही नोक्सान हुँदैन तर जसले मेहनत गरेको हुन्छ, प्रयास गरेको हुन्छ, लगानी गरेको हुन्छ उसलाई भने तपाईंको त्यो एक योगदानले ठूलो हौसला मिल्छ। त्यसैले एकअर्कालाई सपोर्ट गर्दै अगाडि बढौँ न है।’

तीजको सांस्कृतिक मौलिकता र नेपाली नारीका भावनालाई गीत तथा भिडियोमार्फत प्रस्तुत गरिएको ‘म कस्ती देखिए’ यस वर्षको तीजका लागि सार्वजनिक नयाँ गीतमध्ये चर्चामा आउने अपेक्षा गरिएको छ।