काठमाडौँ । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको आगमनसँगै साङ्गीतिक बजार सङ्गीतमय बनेको छ। यसै अवसरमा लोकप्रिय गायिका उषा मलाहा (सिम्रन) को सुमधुर स्वरमा सजिएको नयाँ तीज गीत ‘चट्ट परेर’ सार्वजनिक भएको छ। नेपाली मौलिकता र परम्परागत संस्कृतिलाई जीवन्त रूपमा प्रस्तुत गरिएको यो गीत गायिका मलाहाको आधिकारिक युट्युब च्यानलमार्फत बजारमा ल्याइएको हो।

सार्वजनिक गीतको भिडियोमा पछिल्लो समयका निकै व्यस्त एवं चर्चित मोडलद्वय सुनिशा बजगाईं र सुशीला थापाको उत्कृष्ट अभिनय र दमदार नृत्य देख्न सकिन्छ। माइतीघरको आँगनमा साथीसङ्गी मिलेर कम्मर मर्काएको दृश्यलाई भिडियोमा निकै आकर्षक र कलात्मक ढंगले प्रस्तुत गरिएको छ।

Nepal Telecome

पछिल्लो समय तीज गीतहरूमा पश्चिमा शैली र भ्रामक शब्दहरूको प्रभाव बढिरहेका बेला यस गीतले भने शुद्ध नेपालीपन र मौलिकतालाई प्राथमिकता दिएको छ। गीतमा नारी चेतना, माइतीको आत्मीय सम्झना, र परम्परागत तीजको उमङ्गलाई कलात्मक रूपमा बुनिएको छ।

नेपाली गीत–सङ्गीत क्षेत्रका दिग्गज गीतकार डीपी खनालले यस गीतका मर्मस्पर्शी र उत्कृष्ट शब्दहरू कोरेका हुन्।
गीतमा मनछुने सङ्गीत देवेन्द्र बरालले भरेका हुन् भने लोकप्रिय सङ्गीत संयोजक विश्व अधिकारीले यसको उत्कृष्ट सङ्गीत संयोजन (एरेन्ज) गरेका हुन्।
भिडियोलाई नेपाली म्युजिक भिडियो क्षेत्रका चर्चित र सफल निर्देशक शान थापाले निर्देशन गरेका हुन्। उनको कुशल निर्देशनका कारण भिडियो निकै स्तरीय र जीवन्त बनेको छ।
भिडियोमा कलाकारहरूलाई कोरियोग्राफर रोशन विश्वकर्माले कम्मर मर्काएर नचाएका हुन्।

भिडियोलाई सिनेमाटोग्राफर दिनेश पराजुलीले आफ्नो क्यामरामा कैद गरेका हुन् भने विवेक सुनारले यसको चुस्त र आकर्षक सम्पादन गरेका छन्।

सार्वजनिक भएसँगै दर्शक तथा स्रोताबाट निकै सकारात्मक प्रतिक्रिया पाइरहेको यस गीतले यो वर्षको तीजमा दर्शकलाई डान्सिङ फ्लोरमा निकै मनोरञ्जन दिने र टिकटकलगायतका सामाजिक सञ्जालमा समेत ट्रेन्डिङ हुने अपेक्षा गरिएको छ।