लन्डन, बेलायत । बेलायतको सटनस्थित सेन्ट ओसवाल्ड्स चर्च (St Oswald’s Church, Sutton) मा नेपाली कला, संस्कृति र संगीतलाई समर्पित च्यारिटी सांगीतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा संकलित एक लाख रुपैयाँ प्रधानमन्त्री राहत कोष, नेपालमा हस्तान्तरण गरिएको आयोजकहरूले जानकारी दिएका छन्।
कार्यक्रममा प्रसिद्ध बाँसुरीवादक धनबहादुर गुरुङसहित तबलावादक रेशम पाचे, मादलवादक मिन गुरुङ, सारंगीवादक केरजङ्ग गुरुङ तथा बाँसुरीवादकहरू रफी श्रेष्ठ, पदम आचार्य र खुपेन्द्र गुरुङले विविध सांगीतिक प्रस्तुति दिएका थिए। नेपाली मौलिक बाजागाजा र संगीतको मधुर प्रस्तुतिले दर्शकलाई मनोरञ्जन प्रदान गर्नुका साथै नेपाली कला, संस्कृति र परम्परासँग जोडेको थियो।
क्रोइडन नेपाली समाजकी अध्यक्ष उषा बाँस्कोटा र कार्यक्रमका मुख्य संयोजक रफी श्रेष्ठले संयुक्त रूपमा मैनबत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए। तबलावादक रेशम पाचेले सञ्चालन गरेको कार्यक्रममा नेपाली संगीत र संस्कृतिको प्रवर्द्धनसँगै सामाजिक सेवाको सन्देशसमेत प्रवाह गरिएको थियो।
कार्यक्रमबाट संकलित एक लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा पठाइएको आयोजकले जनाएका छन्। सांगीतिक प्रस्तुतिमार्फत मनोरञ्जन प्रदान गर्नुका साथै मानवीय सहयोग जुटाउने उद्देश्यले आयोजित कार्यक्रमले बेलायतस्थित नेपाली समुदायबीच सहयोग, सद्भाव र एकताको भावना अभिवृद्धि गरेको आयोजकहरूको भनाइ छ।

कार्यक्रमका मुख्य संयोजक रफी श्रेष्ठ र पदम आचार्यले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने व्यक्ति, संघसंस्था, कलाकार, दर्शक तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन्।
त्यसैगरी, कार्यक्रमको ध्वनि व्यवस्थापनमा योगदान पुर्याउने साउन्ड इन्जिनियर हेमराज बिष्ट तथा कार्यक्रमका महत्वपूर्ण क्षणलाई तस्बिर र भिडियोमा अभिलेखीकरण गर्ने फोटोग्राफर तथा भिडियोग्राफर कुशल श्रेष्ठलाई पनि आयोजकहरूले विशेष धन्यवाद दिएका छन्।
नेपाली संगीत, संस्कृति र सामाजिक सेवाको भावनालाई एकै ठाउँमा जोडेको यस च्यारिटी कार्यक्रमले बेलायतस्थित नेपाली समुदायबीच सांस्कृतिक एकता, आपसी सद्भाव र सहयोगको भावनालाई थप मजबुत बनाएको आयोजकहरूले बताएका छन्।


