पोखरा । पर्यटकीय नगरी पोखराको रात्रिकालीन पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना तथा नेपाली मौलिक लोकसंस्कृतिको संरक्षणका लागि रात्रिकालीन व्यवसाय २४ घण्टा सञ्चालन गर्न पाउने व्यवस्था मिलाउन युवा व्यवसायी होम गुरुङले सरकारसँग माग गरेका छन्।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेशका द्वितीय उपाध्यक्ष तथा कास्की लोकदोहोरी व्यवसायी समितिका संस्थापक अध्यक्षसमेत रहेका गुरुङले गृहमन्त्रीलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको खुला पत्रमा यस्तो माग गरेका हुन्।

Nepal Telecome

पोखरा प्राकृतिक सौन्दर्यका साथै नेपाली मौलिक कला, संस्कृति, लोकगीत तथा दोहोरीको पहिचान बोकेको पर्यटकीय सहर भएकाले रात्रिकालीन व्यवसायले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उनको भनाइ छ।
विशेषगरी दोहोरी साँझ तथा सांस्कृतिक मनोरञ्जन प्रदान गर्ने व्यवसायले स्वदेशी तथा विदेशी पर्यटकलाई नेपाली कला र संस्कृतिसँग जोड्नुका साथै सयौँ युवालाई रोजगारी प्रदान गरिरहेको उनले उल्लेख गरेका छन्।

तर, व्यवसाय सञ्चालनको समय सीमित हुँदा लगानीको उचित प्रतिफल प्राप्त गर्न कठिनाइ भएको, रोजगारीका अवसर प्रभावित भएको र पर्यटकलाई पर्याप्त सेवा दिन नसकिएको गुरुङको भनाइ छ।
उनले रात्रिकालीन व्यवसायलाई २४ घण्टा सञ्चालन गर्न पाउने व्यवस्था मिलाउन, आवश्यक सुरक्षा प्रबन्ध गर्न तथा कानुन र मापदण्डको पूर्ण पालना गर्दै व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन गृहमन्त्रीसमक्ष आग्रह गरेका छन्।
गुरुङका अनुसार यो माग कुनै विशेष सुविधा वा कानुनभन्दा बाहिरको छुट नभई राज्यलाई नियमानुसार कर तिरेर सुरक्षित, मर्यादित र व्यवस्थित रूपमा व्यवसाय सञ्चालन गर्न पाउने वातावरणको माग हो।

रात्रिकालीन पर्यटनलाई व्यवस्थित रूपमा अघि बढाउन सके पोखराको अर्थतन्त्र चलायमान हुनुका साथै होटल, पर्यटन तथा मनोरञ्जन क्षेत्रका व्यवसायले लाभ लिन र हजारौँ युवाले स्वदेशमै रोजगारी पाउन सक्ने उनको विश्वास छ।
‘हामी व्यवसाय मात्र चलाउन चाहँदैनौँ, पोखराको पर्यटन, नेपाली लोकसंस्कृति र युवाको भविष्य निर्माणमा पनि योगदान दिन चाहन्छौँ,’ गुरुङले खुला पत्रमा उल्लेख गरेका छन्।

पोखराको पर्यटनलाई दिउँसोमा मात्र सीमित नराखी रात्रिकालीन पर्यटनको सम्भावनासमेत उपयोग गर्नुपर्ने उनको मागले व्यवसाय सञ्चालनको समय, सुरक्षा र पर्यटन प्रवर्द्धनबारे नयाँ बहस सिर्जना गरेको छ।