काठमाडौं, मंसिर ४ । नेपाली भजन संगीतमा आध्यात्मिक चेतना, भक्ति भावना र जीवन दर्शन समेटिएको नयाँ भजन ‘रामले बाटो देखाइदेऊ’ सार्वजनिक भएको छ। नारायण कँडेलको प्रस्तुतिमा तयार भएको उक्त भजन नारायण कँडेल अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

Nepal Telecome

भगवान् श्रीरामलाई सम्बोधन गर्दै तयार गरिएको भजनले सम्पूर्ण देवीदेवताप्रतिको आस्था, विश्वास र भक्तिभावलाई समेटेको छ। सांसारिक लोभ, मोह, ईर्ष्या, अहंकार र क्षणिक स्वार्थको अन्त्य हुने सत्यलाई आत्मसात् गर्दै मानिसले प्रेम, सद्भाव, विनम्रता र सत्कर्मको बाटो रोज्नुपर्ने सन्देश गीतमार्फत प्रस्तुत गरिएको छ।

गीतकार नारायण कँडेलले जीवनको वास्तविकता, आध्यात्मिक चेतना र सत्मार्गको महत्त्वलाई भावपूर्ण शब्दमा उतारेका छन्। गीतमा कृष्णा आचार्य ‘रोशनी’को संगीत रहेको छ। शब्द र संगीतको भावनात्मक संयोजनले भजनलाई भक्तिमा मात्र सीमित नराखी जीवन र कर्मबारे आत्मचिन्तन गर्ने सिर्जनाका रूपमा प्रस्तुत गरेको छ।

भजनमा सूर्य खड्का, देवी घर्ती र कोष खड्काको स्वर रहेको छ। कृष्ण केसीले संगीत संयोजन गरेका छन् भने गोविन्द अनेकले रेकर्डिङ तथा श्यामश्वेत रसाइलीले मिक्सिङ र मास्टरिङ गरेका छन्। भजनको रेकर्डिङ प्रिज्म स्टुडियोमा गरिएको हो।

भजनको भिडियो बत्तीसपुतलीस्थित राम मन्दिरको धार्मिक वातावरणमा छायांकन गरिएको छ। मन्दिरको आध्यात्मिक परिवेश, भक्तिभाव र सामूहिक सांगीतिक प्रस्तुतिले गीतको भावलाई दृश्यात्मक रूपमा थप जीवन्त बनाएको छ।

कृष्णा आचार्य ‘रोशनी’को निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा देवी घर्ती, कोष खड्का, सज्जन हमाल ठकुरी र कृष्णा आचार्य ‘रोशनी’को अभिनय तथा प्रस्तुति रहेको छ। नवीन घर्ती मगरले भिडियो सम्पादन गरेका छन् भने दुर्गा पौडेलले छायांकन गरेका हुन्। भिडियोको पोस्ट प्रोडक्सन एडभेन्चर इन्टरटेनमेन्टले गरेको छ।

‘रामले बाटो देखाइदेऊ’ भजनले सांसारिक मोह र अहंकारभन्दा माथि उठेर मानवता, प्रेम, सद्भाव, विनम्रता तथा सत्कर्मलाई जीवनको मार्ग बनाउन प्रेरित गरेको छ। जीवनको अन्तिम सत्यलाई स्वीकार गर्दै ईश्वरप्रतिको आस्था र सही मार्गमा अघि बढ्नुपर्ने भाव नै भजनको मूल सन्देश बनेको छ।