काठमाडौं । आमाप्रतिको माया, सम्झना, त्याग र भावनालाई गीतमार्फत अभिव्यक्त गर्दै गायक तथा सर्जक बिरही कार्कीले नयाँ गीत ‘कहाँ छेऊ आमा (आमा भाग–६)’ सार्वजनिक गरेका छन्। ‘आमा’ गीत श्रृंखलालाई निरन्तरता दिँदै तयार पारिएको यस गीतले आमासँग जोडिएका भावनात्मक अनुभूति र जीवनका संवेदनालाई समेटेको छ।

Nepal Telecome

बिरही कार्की नेपाली गीतसंगीतमा आमासम्बन्धी भावनात्मक गीतका माध्यमबाट परिचित छन्। ‘आमा’ शीर्षकमा तीनभन्दा बढी गीत रेकर्ड गरिसकेका कार्कीले यस गीत श्रृंखलालाई आफ्नो सांगीतिक पहिचान र ब्रान्डका रूपमा स्थापित गर्दै आएका छन्। ‘आमा’ श्रृंखलाका गीतहरूले आमाप्रतिको प्रेम, ममता, विछोड, सम्झना र सन्तानको भावनालाई संगीतमार्फत प्रस्तुत गर्दै आएका छन्।

‘कहाँ छेऊ आमा’ मा बिरही कार्कीकै शब्द, संगीत तथा स्वर रहेको छ। गीतको संगीत संयोजन बीबी अनुरागीले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका छन्। गीत प्रिज्म स्टुडियोमा तयार गरिएको हो।

सन्ता कार्कीको निर्माणमा तयार भएको गीतको म्युजिक भिडियोमा वसुन्धरा भुसाल, गौरव पहारी, लक्ष्मी तिमल्सिना, दीपेन्द्र तिमल्सिना, दीप्त प्रकाश अधिकारी र रामु थापाको अभिनय रहेको छ। बाल कलाकारतर्फ तनिष्का थापा र अंशुल श्रेष्ठले अभिनय गरेका छन्।

भिडियोको छायांकन नवराज उप्रेतीले गरेका हुन् भने सम्पादन, कलर तथा ग्राफिक्स मनोज कार्कीले गरेका छन्। सहायक निर्देशन रमेश थापाले गरेका छन्। गीतको कथा तथा निर्देशन दीपेन्द्र तिमल्सिनाको रहेको छ।

आमाप्रतिको प्रेम र भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेर तयार पारिएको ‘कहाँ छेऊ आमा’ ले दर्शक तथा श्रोताको मन छुने अपेक्षा गरिएको छ। आमालाई समर्पित बिरही कार्कीको सांगीतिक यात्रामा ‘आमा भाग–६’ अर्को भावनात्मक सिर्जनाका रूपमा थपिएको छ।