काभ्रे । राष्ट्रिय संगीतकर्मी संघ काभ्रेको चौथो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । बनेपामा सम्पन्न अधिवेशनले पुनः कलाकार निर्देशक तथा गीतकार अमरकृष्ण चन्दको नेतृत्वमा नयाँ समिति सर्वसम्मत चयन गरेको छ ।

Nepal Telecome

चन्दको अध्यक्षतामा नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा सविता ढुंगाना, उपाध्यक्ष शर्मिला लामा थिङ, सचिव मधु लामा, सह सचिव अनिशा तामाङ, कोषाध्यक्ष केदार न्यौपाने, सह कोषाध्यक्ष विनिता सिंजाली मगर रहेका छन् । यस्तै सदस्यहरुमा अशोक दाहाल, भगवान खत्री, सन्तोष तामाङ, शुभद्रा ढंगाना, पुजन धिताल, सुन्दरी तामाङ निर्वाचित भएका छन् ।

संगीतकर्मी संघको काभ्रे अधिवेशनको अवसरमा कलाक्षेत्रमा लागेर समाज विकास र समाज परिवर्तनमा योगदान पु¥याउँदै आएका तीन कलाकर्मीलाई सम्मान गरिएको छ । मंसिर २० गते बनेपामा आयोजित कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष चर्चित निर्देशक दयाराम दाहाल, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का र राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय महासचिव एवम् कलाकार, चलचित्र निर्माता बिक्रमजंग शाहलाई सम्मान गरिएको हो ।

कार्यक्रमका अध्यक्ष नेपाल नगरपालिका संघका एवं धुलिखेल नगरपालिकाका मेयर अशोक व्यान्जुले सम्मान पत्रसहित खादा ओडाएर सम्मान गरेका थिए ।
यसै अवसरमा कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि व्याञ्जुले कला साहित्यले समाज परिवर्तनमा उल्लेख्य योगदान पु¥याएको बताउँदै स्थानी तह, प्रदेश र
संघ तिनैवाटा सरकारले कलाक्षेत्रको विकासको लागि निति नै बनाएर सहयोग गर्नुपर्ने धारणा राखे । आफू पनि कलाकारिता अनि साहित्यमा निकै समय सक्रिय रहेको स्मरण गराउँदै कोभिडको महामारीको समयभित्र बाह्रवटा कथा लेखेको बताए । उनले आफू र धुलिखेल नगरपालिकाबाट कलाकारलाई सम्मान गर्दै आएको र निरन्तर गरिरहने बताउँदै कलाकारहरुको लागि आफूले सक्ने सहयोग सधैं गरिरहने प्रतिवद्धता जनाएका थिए । मेयर व्याञ्जुले कलाकारहरु कै लागि चाँडै नै धुलिखेलमा एकेडेमी बनाउन लागेको बताए ।

त्यस्तै कार्यक्रममा विशेष अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले काभ्रे जिल्लामा चलचित्र छायाँकनको मुख्य हब बनाउने योजना रहेको बताए । दाहालले काभ्रे जिल्लाभित्र चलचित्रका लागि स्टुडियो बनाउने समेत बताए । उनले चाँडै नै चलचित्र क्षेत्रको विकासका लागि काभ्रेका पालिकाहरुलाई समट्दै वृहत कार्यशाला गर्न लागेको जानकारी दिए ।

कार्यक्रममा संस्थाका पूर्व केन्द्रिय अध्यक्ष रेशम थापाले कलाकारहरु एक भई हक अधिकारका लागि लागिपर्नुपर्ने अवस्था आएको बताए । यस्तै वरिष्ठ लोकगायक मच्छेश्वर सापकोटाले गीत संगीतमा उत्ताउलो छाडा प्रवृतिको न्युनिकरण गर्दै चेतनामुलक, समाजलाई सन्देश दिने गीत संगीत सिर्जना गर्नुपर्ने धारणा राखे । केन्द्रिय वरिष्ठ उपाध्यक्ष नमराज ढुंगानाले संगीत बिकास बोर्डको आवश्यकता औंल्याए ।