विराटनगर । कोशी प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ हङकङ भ्रमणमा जाने भएकी छन् । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् हङकङ र नेपाली महिला संघ हङकङको संयुक्त आयोजनामा हुने कार्यक्रममा सहभागी हुन उनी हङकङ जान लागेकी हुन् ।

Nepal Telecome

सोमबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले ११६औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आगामी चैत १५ गते आयोजना हुने कार्यक्रममा सहभागी हुन उनलाई भ्रमण स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

कोशी प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीका अनुसार राज्यमन्त्री चेम्जोङको भ्रमण खर्च आयोजक संस्थाले नै व्यहोर्नेछन् ।

यसैगरी मन्त्रिपरिषद् बैठकले आयोजना छनौट वर्गीकरण तथा आयोजना बैंक व्यवस्थापन सम्बन्धी कार्यविधि २०८२ स्वीकृत गर्ने, प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्न अनुमति दिने तथा कोशी प्रदेश निजी तथा साझेदारी फर्म दर्ता (दोस्रो संशोधन) नियमावली २०८२ स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।