काठमाडौं । बिन्ध्यवासिनी म्युजिक अवार्डको सोह्रौं संस्करण आगामी चैत २७ गते राजधानीमा आयोजना गरिने भएको छ ।
१६औँ बिन्ध्यवासिनी म्युजिक अवार्डमा प्रदान गरिने विभिन्न सम्मान तथा पुरस्कारको घोषणा गरिएको छ । बिन्ध्यवासिनी फाउण्डेसनको हालै नयाँ वानेश्वरस्थित इन्द्रेणी सुइट होटलमा बसेको सल्लाहकार समिति तथा कार्य समितिको संयुक्त बैठकले मुक्तिनाथ विकास बैंकको प्रस्तुति रहने रमपम बिन्ध्यबासिनी म्युजिक अवार्ड २०८२ मा सम्मानित र पुरष्कृत हुनेको नाम सार्वजनिक गरेको हो ।

समारोहमा संगीतकार शम्भुजीत बास्कोटालाई एक लाख रुपियाँ नगद र सम्मानपत्रसहित बिन्ध्यावसिनी म्युजिक लाइफटाइम अचिभमेन्ट अवार्ड २०८२ बाट सम्मानित गरिने भएको छ । त्यसैगरी ५० हजार रुपियाँ नगद र सम्मानपत्रसहित यसपटकको बिन्ध्यवासिनी संगीत साधना सम्मान २०८२ बाट गीतकार बिजय शिवाकोटी र २५ हजार रुपियाँ नगद र सम्मानपत्रसहित पत्रकार पवन आचार्यलाई बिन्ध्यावसिनी कला पत्रकारिता सम्मान २०८२ बाट सम्मानित गरिने भएको छ । बिन्ध्यवासिनी फाउण्डेसनका सल्लाहकार तथा नेपाली संगीत क्षेत्रका शिखर पुरूष गायक स्व. प्रेमध्वज प्रधानप्रति श्रद्धासुमनसहित उनको नाममा रहेको प्रेमध्वज संगीत रत्न सम्मानबाट यो बर्ष २५ हजार रुपियाँ नगद र सम्मानपत्रसहित गायिका रचना रिमाललाई सम्मानित गरिने भएको छ भने लोक गायक झलकमान गन्धर्वको नाममा स्थापित झलकमान लोक–संगीत सम्मान २०८२ बाट,२५ हजार रुपियाँ नगद र सम्मानपत्रसहित लोक दोहोरी गायक पशुपती शर्मालाई सम्मान गरिने छ ।

यस बर्षबाट अवार्डको बिधा घटाइएको विन्ध्यवासिनी फाउण्डेसनकी अध्यक्ष लीना रेग्मीले जानकारी गराएकी छन् । उनका अनुसार यस वर्षबाट पब्लिक च्वाईस अवार्डसमेत गरी कुल ११ बिधामा अवार्ड प्रदान गरिनेछ । यसै वर्षबाट हरेक बिजेतालाई ट्रफीसहित ५ हजार रुपियाँ नगदसमेत प्रदान गरिने रेग्मीले जानकारी गराइन् । बिन्ध्यवासिनी म्युजिक अवार्डको १६औं संस्करण आगामी चैत्र २७ गते राष्ट्रिय नाचघर जमलमा आयोजना गरिने अवार्डका सञ्चालक सुवास रेग्मीले जानकारी गराए ।