काठमाडौं । नयाँ वर्ष २०८३ को अवसर पारेर एनआइजी सेभेन ए साइड फुटसल कप (NIG 7A Side Futsal Cup) आयोजना गरिने भएको छ। एनआइजी सेभेन ए साइड फुटसल कप नेपाल इन्फ्लुन्सर ग्रुपको आयोजनामा हुन लागेको हो । यस प्रतियोगिताले खेलकुदमार्फत नेपाली समुदायलाई एकताबद्ध गर्ने लक्ष्य लिइएको छ ।
प्रतियोगितामा नेपालका सातै प्रदेशबाट टोलीहरूको सहभागिता रहने आयोजकले जनाएको छ। काठमाडौंको शेषमतिमा रहेको टिप–टो स्पोर्ट्स हबमा सञ्चालन हुने प्रतियोगिता टिप–टो स्पोर्टस् एकेडेमीको सहकार्यमा आयोजना गरिएको हो।

खेलकुदले नेपाली समुदायबीच एकता र आपसी सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वासका साथ उक्त कार्यक्रम आयोजना गर्न लागिएको आयोजक संस्था एनआइजी ग्रुपले बताएको छ । विशेषगरी विदेशमा रहेका नेपाली र स्वदेशका युवाबीच सम्बन्ध विस्तार गर्ने लक्ष्य प्रतियोगिताले लिएको छ ।
उक्त प्रतियोगिताको अवसरमा एनआइजी को स्थापना दिवसलाई विशेष कार्यक्रमका साथ मनाइनेछ । संस्थाले “नेपाली समाजलाई एकताबद्ध गर्दै प्रगतितर्फ अग्रसर गराउने” मूल नारालाई केन्द्रमा राखेर विभिन्न सामाजिक तथा खेलकुद कार्यक्रम सञ्चालन गर्दै आएको छ।

यससँगै एनआइजीले हरेक वर्ष पुरुष फुटसल प्रतियोगिता, महिला खेलकुद कार्यक्रम तथा म्याराथन आयोजना गर्ने दीर्घकालीन योजना समेत अघि सारेको छ । आयोजकका अनुसार एनआइजी सेभेन ए साइड फुटसल कप ले खेलकुदको माध्यमबाट विश्वभर छरिएका नेपालीहरूबीचमा आत्मीयता बढाउँदै सकारात्मक उर्जा प्रदान गर्ने विश्वास लिइएको छ ।