काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन महत्वपूर्ण योगदान दिन सक्ने बताएका छन् ।

बिहीबार ललितपुरस्थित हिरण्यवर्ण महाविहार तारेमाम् संघको हीरक महोत्सवलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले बुद्धका अहिंसा, मैत्री, करुणा र प्रज्ञाका सन्देशलाई हामीले व्यवहारमा रूपान्तरण गर्न सके मात्र दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्न सकिने बताएका हुन् ।

आजको विश्व अनेकन समस्याहरू द्वन्द्व, स्वार्थपरायणता, आदर्शस्खलन, नैतिकताको क्षयीकरण, असहिष्णुता र मानवीय मूल्यहरूको ह्रासबाट प्रताडित भइरहेको अवस्थामा बुद्धका उपदेशहरू अझ सान्दर्भिक बन्दै गएको राष्ट्रपति पौडेलको भनाइ थियो ।

Nepal Telecome

उनले बुद्धका उपदेशले मानव जातिलाई सुख, शान्ति र आनन्द दिलाउने भएकोले उक्त ज्ञानको संसार भर प्रचार प्रसार भईरहेको उल्लेख गर्दै शान्तिका प्रतीकका रूपमा सम्मान गरिने महामानव गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय भएको बताए।

राष्ट्रपति पौडेलले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालनबाट धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवम् सबल बनाउने तर्फ ध्यान दिनुपर्ने बताए ।

उनले नेपालमा जन्मिएका बोधिसत्व सिद्धार्थ गौतम बुद्धले प्रतिपादन गरेका बुद्ध धर्म तथा बौद्ध दर्शन विश्वव्यापी रुपमा फैलिएको बताउदै बुद्धले देखाएका चतुआर्य सत्य, प्रतीत्यसमुत्पाद र आर्यअष्टाङ्खीक मार्गले विश्वका सबै प्राणीहरूको दुःखबाट मुक्तिको बाटो देखाएको बताए ।