" /> कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु – News of Global

News of Global बुधबार, भाद्र १०, २०७७

काठमाडौं । कैलालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ भने विराटनगरमा पनि एकजनाको कोरोनाबाट नै मृत्यु भएको भएको छ ।

कैलाली जिल्लाको गोदावरी नगरपालिकाका वडा नम्बर ११ का ४५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

मंगलबार साँझसम्म धनगढीको निसर्ग अस्पतालको आइसियूमा उपचार गराइरहेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालमा सारिएको थियो ।

‘मंगलबार साँझ कोरोना पुष्टि भएका व्यक्तिको बुधबार बिहान मृत्यु भएको हो,’ सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । शव व्यवस्थापनका लागि नेपाली सेनालाई जानकारी गराइसकेको पनि उनले बताए ।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमित मृतकको संख्या १४ पुगेको छ । मंगलबार पनि कैलालीको बर्दगोरीयामा मृत्यु भएको १० दिन पछि एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी बिराटनगर महानगरपालिका–११ मा बस्दै आएकी ४४ वर्षीया महिलाको विराट मेडिकल कलेजमा मृत्यु भएको हो । मंगलबार दिउँसो भर्ना भएकी महिलाको उपचारका क्रममा राति ८ बजे मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीर सिंह राठौरले जानकारी दिए ।

संक्रमित महिलालाई श्वासप्रश्वासमा समस्या देखिएको थियो । विराटनगर–१५ मिल्स एरिया घर भएकी महिला बिराटनगर–११ मा बस्दै आएकी थिइन् । उनको मंगलबार बेलुका कोशी अस्पतालमा जाँच गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

संक्रमित महिलामा निमोनिया पनि देखिएको अस्पतालले जनाएको छ । महिलाको मृत्युसँगै कोरोनाका कारण हालसम्म बिराटनगरका ११ जनाले ज्यान गुमाइसकेका छन् । मृत्यु हुनेमा दुई महिला र नौ पुरुष छन् ।

त्यस्तै ललितपुरको पाटन अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौंका कोरोना संक्रमित ५४ वर्षीय पुरुषको गएराति साढे ९ बजे मृत्यु भएको हो । स्वास्थ्य कार्यालय ललितपुरले विज्ञप्ति जारी गर्दै संक्रमित पुरुषको मृत्यु भएको पुष्टि गरेको छ । उनी गत साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।

त्यसैगरी बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१ का ३७ वर्षीय पुरुषको मृत्यु भएको हो । दुवै फोक्सोमा निमोनियाको समस्या भएका उनलाई भदौ ८ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएकोमा अर्को दिन कोरोना पोजिटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
नेपालगन्ज मेडिकल कलेजमा उपचाररत उनको स्वास्थ्य अवस्था जटिल बनेपछि कोहलपुर मेडिकल कलेजमा सारेर भेन्टिलेटरको सहायतामा उपचार भइरहेके अवस्थामा मंगलबार राति साढे एक बजे मृत्यु भएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ भने प्रदेश ५ मा २४ पुगेको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]