काठमाडौं । अमेरिकामा गरिएको एक नयाँ अनुसन्धानले मस्तिष्कको ऊर्जा उत्पादन प्रणालीमा हुने गडबडीले डिमेन्सिया तथा स्मरणशक्ति कमजोर हुने समस्यामा प्रत्यक्ष भूमिका खेल्न सक्ने संकेत दिएको छ । अनुसन्धानकर्ताहरूले मस्तिष्कका कोशिकाभित्र रहेका‘माइटोकन्ड्रिया’लाई अस्थायी रूपमा सक्रिय बनाउँदा डिमेन्सियाग्रस्त मुसामा स्मरणशक्ति सुधारिएको बताएका छन् ।
वैज्ञानिक जर्नल नेचर न्यूरोसाइन्समा प्रकाशित अध्ययन अनुसार फ्रान्सको मर्म बोर्डो विश्वविद्यालयको न्यूरोसेन्टर माजेन्डी तथा क्यानडाको मोन्कटन विश्वविद्यालयका वैज्ञानिकहरूले संयुक्त रूपमा अनुसन्धान गरेका हुन् । अनुसन्धान टोलीले माइटोकन्ड्रियाको गतिविधि अस्थायी रूपमा बढाउने विशेष उपकरण विकास गरेको थियो । उक्त उपकरण प्रयोग गरेर न्यूरोडिजेनेरेटिभ रोग भएका जनावरमा मस्तिष्कको ऊर्जा उत्पादन प्रणाली सक्रिय पार्दा स्मरणशक्ति सुधारिएको देखिएको हो । वैज्ञानिकहरूका अनुसार यसले माइटोकन्ड्रियाको कमजोरी केवल रोगको परिणाम नभई डिमेन्सियाको प्रमुख कारणसमेत हुन सक्ने संकेत दिएको छ ।
माइटोकन्ड्रिया कोशिकाभित्र रहेको सानो संरचना हो, जसले शरीरलाई आवश्यक ऊर्जा उत्पादन गर्छ । मस्तिष्कले शरीरको धेरै ऊर्जा प्रयोग गर्ने भएकाले न्युरोनहरूबीच सूचना आदान–प्रदानका लागि पर्याप्त ऊर्जा आवश्यक पर्छ । जब माइटोकन्ड्रियाको कार्यक्षमता कमजोर हुन्छ, न्युरोनहरूले पर्याप्त ऊर्जा पाउँदैनन् र स्मरणशक्ति तथा सोच्ने क्षमतामा असर पर्न थाल्छ । अनुसन्धानकर्ताहरूले ‘मिटोड्रेड–सीए’ नामक कृत्रिम रिसेप्टर विकास गरी माइटोकन्ड्रियाभित्र रहेका जी–प्रोटिन सक्रिय गरेका थिए । यसले माइटोकन्ड्रियाको गतिविधि सामान्य अवस्थामा फर्काएको र डिमेन्सिया भएका मुसामा स्मरणशक्ति सुधारिएको अध्ययनमा उल्लेख छ ।
अध्ययनका सह–लेखक जियोभेनी मार्सिक्यानोले माइटोकन्ड्रियाको खराबी र न्यूरोडिजेनेरेटिभ रोगका लक्षणबीच प्रत्यक्ष सम्बन्ध प्रमाणित भएको बताए । उनका अनुसार माइटोकन्ड्रियाको कमजोरी न्युरोन नष्ट हुनुभन्दा अगाडि नै सुरु हुन सक्छ ।
यद्यपि अनुसन्धान हालसम्म जनावरमा मात्रै गरिएको भएकाले मानिसमा यसको प्रभावकारिता पुष्टि हुन बाँकी रहेको वैज्ञानिकहरूले बताएका छन् । दीर्घकालीन रूपमा माइटोकन्ड्रियालाई सक्रिय राख्दा रोगको गति सुस्त बनाउन वा न्युरोनको क्षति रोक्न सकिन्छ कि सकिँदैन भन्ने विषयमा थप अध्ययन आवश्यक रहेको उनीहरूको भनाइ छ ।
हालसम्म अल्जाइमरजस्ता रोगमा ‘एमाइलोइड प्लाक’ र ‘टाउ ट्याङ्गल’लाई मुख्य कारण मानिँदै आएको थियो । तर पछिल्ला अध्ययनहरूले ऊर्जा उत्पादन, मेटाबोलिज्म, सूजन र कोशिकीय तनावलाई पनि डिमेन्सियाको प्रारम्भिक कारणका रूपमा हेर्न थालेका छन् । वैज्ञानिकहरूका अनुसार यो अनुसन्धानले डिमेन्सियाविरुद्धको उपचार खोजीमा नयाँ दिशा खोल्न सक्छ । एएनआई



