काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले महिला सशक्तीकरण, रोजगारी, उद्यमशीलता तथा आर्थिक विकासलाई केन्द्रमा राख्दै काठमाडौंमा ‘प्रथम गैरआवासीय नेपाली विश्व महिला सम्मेलन’ आयोजना गर्ने भएको छ।
आगामी २०८३ पुस २० गते (४ जनवरी २०२७) नेपाल सरकारसँगको सहकार्यमा आयोजना हुने सम्मेलनको मूल नारा ‘महिला सशक्तीकरणको आधार : रोजगारी, उद्यम र व्यापार’ रहेको छ।

Nepal Telecome

एनआरएनए स्थापना भएको सन् २००३ पछिको दुई दशकभन्दा लामो इतिहासमा महिला नेतृत्व, उद्यमशीलता र आर्थिक सशक्तीकरणलाई प्राथमिकतामा राखेर आयोजना गर्न लागिएको यो पहिलो विश्वस्तरीय सम्मेलन हो। सम्मेलनमा विश्वका ९० देशमा रहेका गैरआवासीय नेपाली महिला तथा नेपालका विभिन्न क्षेत्रमा सक्रिय महिलाहरूलाई एउटै मञ्चमा जोड्दै अनुभव, ज्ञान, सीप र सफलताका कथा आदानप्रदान गरिनेछ।

सम्मेलनमा महिला सशक्तीकरणसँग सम्बन्धित नीति, कानुन, संस्थागत संरचना तथा व्यवहारिक चुनौतीहरूको समीक्षा गर्दै सुधारका सम्भावित उपाय र आगामी कार्यदिशाबारे छलफल हुनेछ। विशेषगरी डायस्पोरामा रहेका नेपाली महिलाका अधिकार, अवसर र कानुनी सुधारका विषयलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ।

वैदेशिक रोजगारीमा जानुअघिको तयारी, विदेशमा महिलाको सुरक्षा, अधिकार, मानसिक स्वास्थ्य तथा स्वदेश फर्किएपछि सम्मानजनक पुनःएकीकरणका विषय पनि सम्मेलनका महत्वपूर्ण एजेन्डा रहनेछन्। यस क्षेत्रमा एनआरएनएको भूमिका र आवश्यक सहकार्यका विषयमा समेत छलफल गरिनेछ।

त्यस्तै, स्वदेश तथा विदेशमा रहेका नेपाली महिला उद्यमीबीच व्यावसायिक साझेदारी विस्तार, वित्तीय स्रोत र प्रविधिमा पहुँच, उद्यमशीलता प्रवर्द्धन तथा नेपाली मौलिक उत्पादनको बजारीकरण र अन्तर्राष्ट्रिय निर्यातमा महिलाको सहभागिता बढाउने विषयमा विमर्श हुनेछ।

प्राकृतिक विपद् तथा जलवायु परिवर्तनले महिला र बालबालिकामा पार्ने प्रभाव, जलवायु न्याय, विपद् व्यवस्थापनमा महिलाको भूमिका, लैङ्गिक हिंसा तथा मानव बेचबिखनविरुद्धको अभियान र महिला तथा बालबालिकाको सुरक्षा एवं संरक्षणका सवाललाई पनि सम्मेलनले प्राथमिकतामा राख्नेछ।

नेपालका सातै प्रदेश तथा स्थानीय तहमा सक्रिय महिला उद्यमीहरूलाई पुँजी, सीप, प्रविधि र अन्तर्राष्ट्रिय बजारसँग जोड्ने सेतुका रूपमा सम्मेलनलाई अघि बढाउने लक्ष्य राखिएको छ। स्वदेश तथा विदेशमा विभिन्न क्षेत्रमा सफलता हासिल गरेका नेपाली महिलाका प्रेरणादायी अनुभव र संघर्षका कथालाई उजागर गर्दै महिला नेतृत्व विकास र आर्थिक आत्मनिर्भरतालाई प्रोत्साहन गरिने अपेक्षा गरिएको छ।

महिला सशक्तीकरणबिना दिगो तथा समावेशी समृद्धि सम्भव नहुने सन्देशसहित आयोजना हुन लागेको सम्मेलन सफल बनाउन नेपाल सरकारका निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, निजी क्षेत्र, महिला उद्यमी, विज्ञ, सञ्चारकर्मी तथा सम्पूर्ण सरोकारवालालाई सक्रिय सहभागिता, सहयोग र सहकार्यका लागि एनआरएनएले आग्रह गरेको छ।