News of Global २७ आश्विन २०८३, मंगलबार
logo_sideko_ads
Nepal News → Politics → Business → Entertainment → Music → Film → Society → International ‘Inmark’ Mira Rana ‘Miss Glam World Nepal 2026’ Timbung Pokhari
menusads
menusads
जोखिम घटाउन प्राधिकरणको तीव्र तयारी

News of Global
News of Global
आइतबार, आषाढ २८, २०८३

जोखिम घटाउन प्राधिकरणको तीव्र तयारी

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को जोखिम न्यूनीकरणका लागि सबै निकायसँग समन्वय गरेर तयारी अघि बढाएको जनाएको छ ।

Nepal Telecome

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख तथा सहसचिव प्रदीपकुमार कोइरालाले आइतबार प्राधिकरणको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मनसुन अवधिमा हुन सक्ने विपद् व्यवस्थापनका लागि विभिन्न निकायसँग समन्वय गरी तयारीको अवस्था अद्यावधिक गरिएको जानकारी दिए ।

उनका अनुसार असार ४ गते मन्त्रीको संयोजकत्वमा बसेको बैठकले दिएको निर्देशनअनुसार प्राधिकरणले सम्बन्धित सबै निकायसँग समन्वय गर्दै कामको प्रगति विवरण संकलन गरेको हो ।

उनले भने,‘त्यसबेला माननीय मन्त्रीज्यूबाट विभिन्न काम गर्ने भनेर निर्देशन भएको थियो । त्यसअनुसार आज हामीले सबै क्लस्टरका लिडर, को–लिडर, सडक, सिँचाइलगायत सम्बन्धित निकायका महानिर्देशक तथा विपद् सम्पर्क व्यक्तिहरूलाई बोलाएर अहिलेसम्म भएका कामको विवरण लिएका छौं।’

कोइरालाले बैठकबाट प्राप्त विवरण अब मन्त्रीसमक्ष पेश गरिने जानकारी दिए । उनले मनसुन अवधिमा सबै निकायलाई तयारी अवस्थामा राख्ने उद्देश्यले बैठक गरिएको बताए ।

उनका अनुसार अहिले देशमा मनसुन सक्रिय रहेको र असार ५ गतेदेखि नेपालमा मनसुन भित्रिएको हो । जल तथा मौसम विज्ञान विभागले जारी गर्ने विशेष बुलेटिनका आधारमा प्राधिकरणले आवश्यक सतर्कता सूचना तथा एडभाइजरी जारी गर्दै आएको उनले बताए ।

‘अहिले हामी पूर्णरूपमा मनसुन तयारीकै अवस्थामा छौँ । जल तथा मौसम विज्ञान विभागले जारी गर्ने विशेष बुलेटिनका आधारमा हामीले पनि एडभाइजरी जारी गर्छौँ,’ उनले भने ।

प्राधिकरणले आइतबार र सोमबार पूर्वी क्षेत्र तथा मधेसका केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमानका आधारमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

कोइरालाले नागरिकलाई मौसमसम्बन्धी सूचना र प्राधिकरणले जारी गर्ने चेतावनीलाई ध्यान दिएर आफ्ना गतिविधि सञ्चालन गर्न आग्रह गरे ।

‘जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिन र हामीले जारी गरेको एडभाइजरी राम्रोसँग हेरेर त्यसअनुसार व्यवहार गरिदिनुभयो भने जनधनको क्षति न्यूनीकरण गर्ने अभियानमा ठूलो सहयोग पुग्छ,’ उनले भने ।

उनले वर्षाको सम्भावना र जोखिमको अवस्था हेरेर आवश्यकता अनुसार आगामी दिनमा पनि एडभाइजरी जारी गरिने बताए ।

प्रतिक्रिया दिनुहोस !
Developed by: Websoft IT Nepal Pvt. Ltd.