काठमाडौं । दर्शकको उत्साहजनक साथ पाइरहेको नाटक ‘सेतो धरती’ ले मञ्चनको ५१औँ दिन पूरा गरेको छ। बढ्दो दर्शक मागलाई मध्यनजर गर्दै कान्तिपुर थिएटर ले नाटकको मञ्चन अवधि साउन १६ गतेसम्म लम्ब्याएको छ।
मदन पुरस्कार विजेता लेखक अमर न्यौपाने को चर्चित उपन्यासमा आधारित यस नाटकका अधिकांश शो हाउसफुल भइरहेको कान्तिपुर थिएटरका कार्यकारी अधिकृत प्रकाश पुरी ले जानकारी दिए।
नाटक हेर्न यसैसाता पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, प्रधानमन्त्रीपत्नी सविना काफ्ले, सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शोभिता गौतम, पूर्वमन्त्रीहरू हिसिला यमी, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भानुभक्त ढकाल तथा सांसद गणेश कार्की र अनुष्का श्रेष्ठ लगायत पुगेका थिए।
दर्शकहरूले नाटकको कथा, प्रस्तुति र कलाकारहरूको अभिनयको खुलेर प्रशंसा गरेका छन्। गैरीधारास्थित कान्तिपुर थिएटरमा मञ्चन भइरहेको नाटकको निर्देशन सुन्दर धिताल ले गरेका हुन्।
नाटक साउन १६ गतेसम्म बुधबार बाहेक हरेक दिन साँझ ४:१५ बजे र ७:१५ बजे, साथै बिदाका दिन दिउँसो १:१५ बजे अतिरिक्त शोसहित मञ्चन हुनेछ। टिकट बुकिङ तथा समयतालिकासम्बन्धी जानकारी कान्तिपुर थिएटरको वेबसाइटमार्फत प्राप्त गर्न सकिनेछ।
बालविवाह, बालविधवा र महिलाको अस्तित्वसँग सम्बन्धित संवेदनशील सामाजिक विषयलाई केन्द्रमा राखेर तयार गरिएको ‘सेतो धरती’ अहिले दर्शकमाझ विशेष रुचाइँदै आएको नाटकका रूपमा स्थापित भएको छ।



