काठमाडौं । गीतकार सङ्घ नेपालको १७औँ वार्षिकोत्सवका अवसरमा आयोजित ‘सम्मान तथा पुरस्कार समारोह एवं सांगीतिक कार्यक्रम–२०८३’ भव्य रूपमा सम्पन्न भएको छ। आइतबार राजधानीको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजित समारोहमा वरिष्ठ गीतकार नीर शाहलाई नगद १ लाख ५१ हजार रुपैयाँ राशिको ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान’ प्रदान गरिएको छ।

Nepal Telecome

प्रतिष्ठित गीतकार किरण खरेलको प्रमुख आतिथ्यता तथा गीतकार सङ्घ नेपालका अध्यक्ष वसन्त बित्यासी थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली गीतसंगीत, साहित्य र पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टालाई विभिन्न सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।

नेपाली कला क्षेत्रमा पाँच दशकभन्दा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका गीतकार नीर शाहलाई सम्मानपत्र, माला र दोसल्लासहित सम्मान गरिएको हो। उनका ‘बादल बनाई देऊ’, ‘आकार बदल्न सकूँ’, ‘गहिराइमा डुब्दै नडुब’, ‘पर्खी बसेँ आउला भनी’, ‘तिमीसँग डुङ्गामा घुम्दै फेवाताल’, ‘हिउँभन्दा चिसो, आगोभन्दा तातो’ र ‘आँखैमा कसैको तस्बिर’ लगायतका गीत लोकप्रिय छन्।

यसैगरी, यस वर्षको ‘डायस्पोरा गीतकार सम्मान’ गीतकार नीलम आङ्बुहाङ राईलाई नगद १५ हजार रुपैयाँसहित प्रदान गरियो। विदेशमा रहेर पनि नेपाली गीत लेखनमा सक्रिय राईका ‘पुरानो हुँदैन माया’ र ‘पानी मिठो मेरो हजुर इलाम बजारको’ लगायतका गीत चर्चित छन्।

‘विष्णु मन्सरा घले मातृभाषा गीतकार सम्मान’ लोहोरुङ राई भाषाका स्रष्टा नइन्द्र लोहोरुङ राईलाई नगद २५ हजार २५२ रुपैयाँसहित प्रदान गरियो। त्यस्तै, ‘हरिभक्त बुढाथोकी प्रतिभा गीतकार सम्मान–२०८२’ बाट गीतकारद्वय सुशीला पौडेल र अरुण तिवारी जनही १५ हजार रुपैयाँसहित सम्मानित भए।

यस वर्षदेखि सुरु गरिएको ‘गीतकार सङ्घ नेपाल पत्रकारिता सम्मान–२०८२’ बाट हिमालय टाइम्सका उपसम्पादक तथा वरिष्ठ पत्रकार कृष्ण भुसाल नगद ५ हजार ५५५ रुपैयाँसहित सम्मानित भए। सम्मानित व्यक्तित्वहरूको तर्फबाट गीतकार नीर शाहले मन्तव्य राखेका थिए।

छ गीतकार तथा स्रष्टालाई सम्मान र पुरस्कार

समारोहमा यस वर्षको ‘जगतमर्दन थापा वर्ष गीति पुस्तक पुरस्कार–२०८२’ कल्पना खरेलको कृति ‘नन्दिनी’ र ज्ञानेन्द्र गदालको कृति ‘भोलिको आश उज्यालो प्रकाश’लाई प्रदान गरियो। दुवै कृतिलाई पुरस्कारस्वरूप नगद ५७ हजार रुपैयाँ प्रदान गरिएको थियो।

त्यसैगरी, ‘भैरवनाथ रिमाल (कदम) वर्ष गीत पुरस्कार’ बाट गीतकारद्वय डम्बर याक्सो ‘म तिम्रो नजरमा’ र प्रबल विष्ट ‘भुल्न सकिनँ’ गीतका लागि पुरस्कृत भए। दुवैलाई नगद ५७ हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गरिएको थियो।

समारोहमा गीतकार सङ्घ नेपालबाट आजीवन सदस्यता प्राप्त गरेका गीतकारहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै कार्यक्रमलाई विभिन्न माध्यमबाट सहयोग गर्ने व्यक्ति तथा संस्थालाई मायाको चिनो प्रदान गरिएको थियो।

अग्रज गीतकारका कालजयी गीतमा सांगीतिक प्रस्तुति

सम्मान तथा पुरस्कार वितरणसँगै समारोहमा १० जना अग्रज गीतकारका चर्चित गीतहरू चर्चित गायक–गायिकाले प्रत्यक्ष रूपमा प्रस्तुत गरेका थिए। वरिष्ठ सङ्गीतकार अशोककुमार राईको सङ्गीत संयोजनमा १५ जना वाद्यवादकको टोलीले प्रत्यक्ष सङ्गीत भरेको कार्यक्रममा पुराना कालजयी गीतले विशेष सांगीतिक माहोल सिर्जना गरेको थियो।

सम्मानित गीतकार नीर शाहको दार्शनिक भाव बोकेको गीत ‘गहिराइमा डुब्दै नडुब’ गायक जगदीश समालले प्रस्तुत गरेका थिए। गीतकार डा. भोला रिजालको ‘मेरो पौवा पाटीलाई’ गायक सञ्जय तुम्रोकले प्रस्तुत गरे भने दिवंगत अमर स्रष्टा गणेश रसिकको चर्चित गीत ‘धेरै सम्झे धेरै हुन्छ’ गायक अशोक मुकारुङले गाएका थिए।

त्यसैगरी, गीतकार एसपी कोइरालाद्वारा चलचित्र ‘ग्रहण’का लागि रचित ‘धड्कनभित्र लुकाइदेऊ न’ रूपक चौधरी र बिनुषा राईले युगल रूपमा प्रस्तुत गरेका थिए। अमर बान्तुको रचना ‘आमा’ गायिका निशा देसारले प्रस्तुत गर्दा दर्शक भावुक बनेका थिए। कवि तथा गीतकार वसन्त चौधरीको ‘मेरो प्यारो मान्छे’ गायिका माण्डवी त्रिपाठीले गाएकी थिइन्।

गीतकार सङ्घ नेपालका संस्थापक अध्यक्ष डा. कृष्णहरि बरालको रचना ‘मर्ने कसैलाई रहर हुँदैन’ बालगायक प्रेम परियारले प्रस्तुत गरेका थिए। उनको प्रस्तुतिमा दर्शकले ताली बजाएर साथ दिएका थिए।

यसैगरी, गीतकार योगेन्द्रमणि दाहालको ‘बादलहरू हो’ सञ्जय तुम्रोकले, गीतकार चूडामणि देवकोटाको देशभक्तिपूर्ण गीत ‘तिम्रो पनि रगत’ सुमित खड्काले र पूर्वअध्यक्ष शुभ मुकारुङको शब्द रहेको ‘तिमीले मलाई छाडी गए’ गणेश पराजुलीले प्रस्तुत गरेका थिए।

वरिष्ठ सङ्गीतकार अशोककुमार राईको संयोजनमा सम्पन्न सांगीतिक प्रस्तुतिमा किबोर्डमा शुवानी मोक्तान, भ्वाइलिनमा मोहनकृष्ण कार्की ढली, मनोहर सुनाम, किशोर कार्की ढली र रविन कार्की ढली, ढोलकमा कुमार महाराज र भरत बुढाथोकी, बाँसुरीमा गोपाल देव, मादलमा पोषण घर्ती र अनिल थापा तथा गिटारमा देव राई, प्रभात लामा र खगेन्द्र गुरुङ सहभागी थिए। प्याड ड्रममा अंकित खड्काले साथ दिएका थिए।

बाढीपीडितका लागि १ लाख १५ हजार सहयोग

कार्यक्रममा गीतकार सङ्घ नेपालका अध्यक्ष तथा समारोहका सभापति वसन्त बित्यासी थापाले स्वागत मन्तव्य राख्दै प्राकृतिक विपत्तिका कारण वार्षिकोत्सव कार्यक्रम निर्धारित समयमा आयोजना गर्न नसकिएको जानकारी दिए।

उनले भदौ १० गते आएको विनाशकारी बाढीपहिरो तथा प्राकृतिक विपत्तिका कारण कार्यक्रम स्थगित गर्नुपरेको स्मरण गर्दै कार्यक्रमका लागि छुट्याइएको रकममध्ये १ लाख १५ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको बताए।

नेपाली गीतसङ्गीत र शब्दको गरिमा उच्च राख्न सङ्घ सधैँ प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले समारोहलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संघसंस्था, कलाकार तथा उपस्थित अतिथिप्रति आभार व्यक्त गरे।

विशिष्ट व्यक्तित्वहरूको उपस्थिति

समारोहमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति ब्रजेश खनाल, सदस्यसचिव भूपेन्द्र रायमाझी, चलचित्र कलाकार सङ्घका अध्यक्ष उत्तम केसी, सांगीतिक सङ्घ नेपालका अध्यक्ष मिलन मोक्तान, वरिष्ठ पत्रकार सानुकाजी श्रेष्ठ तथा साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीलगायतको विशिष्ट आतिथ्यता रहेको थियो।

कार्यक्रममा गीतकार सङ्घ नेपालका संस्थापक अध्यक्ष तथा गीतकार डा. कृष्णहरि बराल, गीतकारहरू डा. भोला रिजाल, एसपी कोइराला, राजेन्द्र थापा, अमर बान्तु, दिनेश अधिकारी, सुभाषचन्द्र ढुंगेल, प्रमोद ढुंगाना, भूषण खरेल, योगेन्द्रमणि दाहाल, शुभ मुकारुङ, सुनिल मास्के, कवि तथा गीतकार डा. राजुबाबु श्रेष्ठ र देवेन्द्र केसीलगायतको उपस्थिति थियो।

त्यसैगरी, वरिष्ठ गायक लाक्पा शेर्पा, गायक तथा सर्जक दुर्गा रायमाझीलगायत कला, साहित्य तथा संगीत क्षेत्रका विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

सञ्चारकर्मी तथा सङ्घका आजीवन सदस्य हेम सुवेदीले सञ्चालन गरेको कार्यक्रम रेडियो आहा १०४.५ मेगाहर्ज तथा रेडियोको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो।

नेपाली गीत लेखन, स्रष्टाको सम्मान र कालजयी गीतहरूको संरक्षण तथा प्रवर्द्धनलाई केन्द्रमा राखेर आयोजना गरिएको सङ्घको १७औँ वार्षिकोत्सवले नेपाली गीतसङ्गीत क्षेत्रका अग्रज तथा नयाँ पुस्ताका स्रष्टालाई एउटै मञ्चमा जोडेको थियो।