काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय नयाँ बसपार्क समितिद्वारा आयोजित ‘९औँ बृहत संस्थागत तीज गीत प्रतियोगिता–२०८३’ मा ललितपुर समितिले प्रथम पुरस्कार जित्न सफल भएको छ । उपत्यका समन्वय ललितपुर समितिले ३० हजार नगद राशिसहित ट्रफी उचालेको हो । गायिका बेलीमाया पुलामी अध्यक्ष रहेको उपत्यका समन्वय ललितपुर समितिको टिमले प्रथम पुरस्कार जित्न सफल भएको हो ।

त्यसैगरी उपत्यका समन्वय लाजिम्पाट समितिले दोस्रो स्थान प्राप्त गर्दै २० हजार राशिसहित ट्रफी उचाल्न सफल भयो भने आयोजक समितिसमेत रहेको नयाँ बसपार्क समितिले १० हजार राशिसहित तेस्रो पुरस्कार चुम्न सफल भयो ।

Nepal Telecome

इन्द्रेणी सांस्कृति विकास केन्द्र बुद्धनगरमा आयोजित ‘९औँ बृहत संस्थागत तीज गीत प्रतियोगिता–२०८३’ प्रतियोगितामा सर्जक सुबास केसी, गायक तथा सर्जक शिव हमाल, गायिका जुना श्रीष मगर, गायिका पूर्णकला बिसी र गायक अर्जुन थापा निर्णायक मण्डलमा रहेका थिए । निर्णायकहरुले सहभागी टिमहरुले दिएको प्रस्तुतिमा शब्द चयन, कथा, गायन प्रस्तुति, पोशाक, अनुशासन लगायतका विषयमा निर्णय गरेको समितिका अध्यक्ष स्मृति थापा मगरले जानकारी दिइन् । अध्यक्ष थापाका अनुसार तीज गीत प्रतियोगिताले संस्थागत रुपमा आपसी सद्भाव कायम गर्दै कलाकारहरुलाई एकजुट बनाउन सफल भएको बताइन् ।