काठमाडौं । अखिल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघले विभिन्न माग राख्दै काठमाडौंमा शान्तिपूर्ण प्रदर्शन गरेको छ । संघले भारतीय गोर्खा सेनामा नेपाली युवाको भर्ती प्रक्रिया पुनः सुरु गर्न र त्यससम्बन्धी सूचना तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।

Nepal Telecome

प्रदर्शनमा सहभागी पूर्व सैनिकहरूले बेरोजगार नेपाली युवाका लागि रोजगारीको व्यवस्था गर्नुपर्ने तथा पूर्व गोर्खा सैनिकसँग सम्बन्धित संस्था र संगठनको दर्ता एवं नवीकरण प्रक्रिया सहज बनाउनुपर्ने मागसमेत अघि सारेका छन् ।

र्‍यालीमा सहभागीहरूले भारतीय सेनामा गोर्खा भर्ती पुनः सञ्चालनका लागि आवश्यक कूटनीतिक तथा प्रशासनिक प्रक्रिया अघि बढाउन नेपाल सरकारको ध्यानाकर्षण गराएका थिए । उनीहरूले भर्तीसम्बन्धी अन्योल अन्त्य गरी नेपाली युवालाई अवसर प्रदान गर्नुपर्नेमा जोड दिएका छन् ।

भारतले सन् २०२२ मा अग्निपथ योजना लागू गरेपछि नेपाली युवाको भारतीय सेनामा भर्ती प्रक्रिया रोकिएको हो । उक्त योजनाअन्तर्गत चार वर्षका लागि अग्निवीर भर्ना गर्ने व्यवस्था गरिएको छ ।

तर, नयाँ भर्ती प्रणालीका विषयमा नेपाल र भारतबीच सहमति हुन नसक्दा गोर्खा भर्ती प्रक्रिया पुनः सुरु हुन सकेको छैन । लामो समयदेखि भर्ती प्रक्रिया रोकिँदा भारतीय सेनामा सेवा गर्ने अवसरको प्रतीक्षामा रहेका नेपाली युवाहरू प्रभावित हुँदै आएका छन् ।

यसै सन्दर्भमा पूर्व सैनिकहरूको संघले भर्ती प्रक्रिया पुनः सञ्चालन गर्न कूटनीतिक पहल तीव्र बनाउन र नेपाली युवाको रोजगारी तथा पूर्व सैनिकका संस्थागत अधिकार सुनिश्चित गर्न माग गरेको हो ।