काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)ले दुई जना संचारकर्मीलाई पुरस्कृत गरेको छ । सोमबार काठमाडौंमा सम्पन्न एनआरएनएको १२ औँ अधिवेशन तथा विश्व सम्मेलनको अवसरमा आयोजित कार्यक्रममा नेपाल न्यूज बैंक समाचार एजेन्सीका सम्पादक युवराज गौतम र आर्थिक न्यूज डटकमकी कार्यकारी सम्पादक मुना कुँवरलाई पुरस्कृत गरेको हो ।

विदेशमा बसोबास गर्ने नेपालीहरुका मुद्दामा कलम चलाएको एवम उत्कृष्ट रिसर्च आर्टिकल लेखेवापत उनीहरुलाई पुरस्कृत गरिएको हो ।
गैरआवासीय नेपाली संघ यूकेले सन् २०१३ मा स्थापना गरेको ‘उत्कृष्ट एनआरएनए पुरस्कार’ अन्तर्गत यस वर्ष उत्कृष्ट रिसर्च आर्टिकलका आधारमा उनीहरू चयन भएका हुन् ।

एनआरएनएका मिडिया संयोजक चिरन शर्माका अनुसार गौतमलाई गैरआवासीय नेपालीहरूको मताधिकार सम्बन्धी गहिरो अनुसन्धानमूलक लेखका लागि सम्मान गरिएको हो । लामो समयदेखि सत्य, निष्पक्ष र तथ्यमा आधारित पत्रकारिता गर्दै आएका गौतमको योगदानलाई उच्च मूल्याङ्कन गर्दै उक्त सम्मान प्रदान गरिएको हो ।

Nepal Telecome

गौतम निरन्तर रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा अनुसन्धानमूलक र तथ्यपरक सामग्री प्रस्तुत गर्दै पाठकहरूको विश्वास जित्दै आएका छन । कुँवर विदेशमा रहेका नेपाली श्रमिकहरुका मुद्दामा कलम चलाउँदै आएकी छिन् ।

कार्यक्रममा एनआरएनएका अध्यक्ष डा. बद्री केसी र यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले संयुक्त रूपमा गौतम र कुँवरलाई नगदसहित पुरस्कार प्रदान गरेका थिए ।