आमा

संस्मरण

उर्मिला त्रिपाठी मंगलबार, बैशाख २८, २०७८

केटाकेटी बेलाको सम्झना पनि कती मिठो हुने । अझ आमासँग जोडिएका हर कृयाकलापहरुको यादले आमाको स्थान झन् उच्च बनाउँछ । आमा भोक लाग्यो, आमा तिर्खा लाग्यो, आमा थकाई लाग्यो, आमा निन्द्रा लाग्यो, आमा पेट दुख्यो, आमा टाउको दुख्यो, आमा खुट्टा दुख्यो एक दुई सन्तानका गुनासा हुन् र चार पाँच सन्तानका यस्ता यस्ता गुनासा सुन्दा पनि बिना कुनै झन्झट सम्स्या समाधान गर्न लागिपरिरहने यी आमा कुन तत्वले बनेकी होलिन् ।
आफ्नो केटाकेटी बेलाको याद आउँछ । अझै हामी चार दिदीबहिनी अनि चार दिदीबहिनी भन्दा मुनिको एउटा भाई । राती कहिले कसैलाई पेट दुख्थ्यो, कसैलाई पिसाब लाग्थ्यो, कसैलाई टाउको दुख्थ्यो ।

आमाले कुनै झर्को नमानी कसैलाई टोइलेट लैजानु पर्ने होकि, घरेलु उपचार गर्नुपर्ने होकि, राती नै उठेर गर्न थाल्नु हुन्थ्यो । कहिलेकाही सानो भाइ रातभरी रुन्थ्यो, आमा नसुती नसुती भाइ लिएर बस्नुहुन्थ्यो ।

बिहान चार बजेदेखि उठेर निरन्तर कामले लखतरान भएर राती सुत्दा पनि पुरा निन्द्रा सुत्न नपाउँदा कस्तो हँुदो हो ।
तैपनि मेरी आमाको अनुहारमा न चिड्चिडापन हुन्थ्यो न त बोली र व्यवहारमा रुखोपन । आमा बिहान कति बेला उठ्नु हुन्थ्यो, हामीलाई थाहा हुँदैनथ्यो तर हामी उठ्दा कित जाँतोमा मकै, दाल, चामल पिस्दै हुनुहुन्थ्यो या ढिकिमा धान कुत्दैकुट्दै या त घाँस काट्न बारी तिर गैसकेको हुनु हुन्थ्यो । कहिले भान्सा, कहिले घाँस दाउरा कहिले मेलापात यस्तै यस्तैमा व्यस्त रहनुहुन्थ्यो आमा ।
त्यससँग छोरा छोरीको गनगन सुन्नु गुनासो पूरा गर्नु झगडा मिलाउनु आदि सबै आमाको दिनचर्या हुन्थ्यो । बेलुकाको खाना खाएपछि प्राय घरका सबै सदस्यको काम सकिन्थ्यो तर सबले खाएको जुठो भाडा बाहिर अँध्यारो जुठेल्नुमा बसेर एक्लै माझ्दै गरेको सम्झना अझै आउँछ ।

हामीलाई भने आमाले कतिबेला काम सकेरभित्र आउनुहोला भन्ने मात्रा हुन्थ्यो । आमाको शरीर थाकेको होला, हात गोडा दुखेका होलान् भन्ने कल्पना सेमत हुन्थेन ।
आमा भनेको कामको अर्को नामझै लाग्थ्यो । यतिमात्रा कहाँ होर । घरमा केही मिठो चोखो पाक्यो भने आफु नखाइ छोराछोरीलाई मात्र खुवाउन पाए हुन्थ्यो झैं गर्ने । कस्लाई के मनपर्छ अलक्कै थाहा पाउने यस्तो कसरी हुन्छ होला भनेर सानो छँदा म धेरैपटक छक्क परेकी छु । आफुले खोजेको कुरा बुझेको देखेर म सोच्थेंकि आमाले सबैभन्दा धेरै माया मलाई गर्नु हुन्छ । तर म केटाकेटीलाई के थाहा बाह्र सन्तान भए पनि आमाको लागि सबै बराबर हुन भनेर ।
तर बिचरा म, आफु सबैभन्दा प्यारो भन्ने भ्रममा बाँचे यो यथार्थ नबुझेर । तर अहिले लाग्छ त्यतिबेला जे सोचें राम्रै सोचें हामी स्कुल पढ्दा हरेक बर्ष दुई तीन महिना बिहानमा पढाई हुन्थ्यो । स्कुलमा बिहानको छ बजे घन्टी लाग्थ्यो । आमाले दाउरा बालेर बिहान पाँच नबज्दै जाउलो बनाइ दिइसक्नु हुन्थ्यो ।
हामीलाई खान मन नलाग्ने, आमाले कर गरेर खुवाउने अनि खाइसकेपछि आफ्नो पेट भरिएको जस्तो गरेर खुशी देखिने आमाको अनुहार सम्झँदा अचम्म लाग्छ ।
एउटा भनाइ छ, ‘हाम्रो आँखामा अमृत छ कि विष सानो बालकले सजिलै थाहा पाउँछ ।’ आमको आँखामा सधैं अमृत देखिने भएकोले होला स्कुलबाट घर फर्किंदा बाटोबाट नै आमा भन्दै बोलाउन मन लाग्थ्यो । मन चाहन्थ्यो, आमा खेतबारीतिर नगइ घरमा नै भइदिए हुन्थ्यो । आमालाई घरमा नै देख्दा प्राप्त हुने त्यो आनन्दको बयान गर्न जुन शब्द पनि अपूरा हुन्छन् ।

केटा केटी बेलाको सबैभन्दा अत्यास लाग्दा दिनहरु ती हुन्थे जब आमा हामीलाई छोडेर मामाघर जानुहुन्थ्यो । हाम्रो मामाघर टाढा थियो, त्यसैले आमा मामाघर गएपछि दुईतीन महिना बस्नु हुन्थ्यो । आमालाई पनि कति गाह्रो हुन्थ्यो होला । नजाम भने आफ्नो आमा बुबा र भाइबहिनीसँग भेट्न रहर लाग्ने, जाम भने साना साना छोराछोरीहरु छोड्नु पर्ने । बुहारी मेसिनजस्तो हुने जमानामा माइती नगए त्यो शरीरले आराम कहिले गर्ने ? अहिलेजस्तो छिटो संचार नहुने जमानामा साना बच्चा छोडेर जान कति गाह्रो हुन्थ्यो होला । यता हामी भने आमा मामाघर गएको भोलिपल्टदेखि नै बाटो हेर्न थाल्थ्यौं । यसरी बाटो हेर्दाहेर्दा आँखा कति थाके कति । अझ त्योभन्दा कैंयौ गुणा थाकेको मनको के हिसाब । तर लामो पर्खाइ पछि आमाले डोकाभरी कोसेली बोकाएर आउँदै गरेको दृश्य, त्यो देखेर आमा आउनुभयो भन्दै खुशीले थाम्न नसकेको आवाज, आमाको सारी समातेर सँगसँगै हिंडेको त्यो अमुल्य अनुभव सायदै अबको पुस्ताले गर्न पाउला ।

जङ्क फुडको दलदलमा फसेको आजका केटाकेटीको जिब्रो र मनलाई त्यो कोसेलीको स्वाद र आनन्द कस्तो हुन्छ के थाहा । आमाको वरिपरी खुशी हुँदै रमाउँदै बालापन कसरी बित्यो पत्तो भएन । केटाकेटी बेलामा जस्तोसुकै अभाव अप्ठ्यारा र डर भए पनि आमाको मायाको शक्तिको अघि ती सबै गौण भए ।
सन्तान ठूलो हुँदै गर्दा बिभिन्न कारणले आमाबाट टाढिनु पर्ने कुरा कुनै अप्राकृतिक कुरा हैन । तर शरीर टाढा भए पनि आमाको माया अरु कुनै मायासँग तुलना गर्न नमिल्ने खालको माया रैछ भन्ने कुरा पनि बुझ्दै गैयो । आफु आमा पनि बनियो तर यो शब्द र नातामा मैले कत्तिको न्याय गर्न सकेकी छु, त्यो त मेरो सन्तानले अनुभव गर्न सक्लान् ।

यी त भए मायाका कुरा, आ–आफ्ना बालबच्चा अनुशासनबाट बाहिर जान्छन् कि भनेर सबैका आमा सचेत हुन्छन् नै तर हाम्री आमाले गाली गरेको र नमिठा शब्द बोलेको याद नै छैन । दुई पटक पिटाइ भने खाएकी छु आमाको हातबाट त्यो पनि राम्रोसँग खाना खाइनँ भनेर । संयुक्त परिवारमा हुर्केको म मेरी आमाले आफु भन्दा मान्यजनलाई अपमान गरेको कहिल्यै थाहा पाइनँ । कर्तव्यबाट पन्छिएको पनि कहिल्यै थाहा पाइनँ । मेरो विवाह भएपछि तेरो परिवार कस्तो छ ? कस्तो व्यवहार गर्छन् ? तिमीले यसो गर्दिनु उसो गर्दिनु भनेर घर व्यवहारमा समस्याउत्पन्न गर्ने कुरा आजसम्म गर्नुभएको छैन । बरु, आफ्नो कर्तव्यबाट पछि हट्न हुन्न भनेर झकझक्याइ रहनुहुन्छ । शायद यो आमा भन्ने नाता नै यस्तो हुन्छ वा मेरी आमा मात्रै यस्ती गुणकारी मेरी आमामा यी कुनै कुराको अभाव महसुस गरेको छैन जुन उपमा आमाको लागि दिइन्छ । यस्ती आमाको संस्कार मैले पनि मेरा सन्तानमा दिन सकुँ । जुन मेरा सन्तानको लागि मार्गदर्शक बनोस् । कहिलेकाहीं प्रकृतिसँग गुनासो गर्न मन लाग्छ । हामी सानोछदा आमाको काखमा सुतेको, आमाको दुध चुसेर आफ्नो भोक मेटेको, आमाको काखमा पिसाब फेरेको दिसा गरेको यादहरु किन हामीसँग रहेनन् होला । यदि यी याद रहँदा हुन त, सायद कुनै पनि आमाले वृद्धााश्रम खोज्नु पर्ने थिएन होला । आमाले आफ्नो एकदुइवटा कपालको रांै फुल्दा हामीलाई उखेल्न लाइरहनु हुन्थ्यो । अहिले आफ्नै कपालमा सेतो मिसिन थाल्यो, आमाको त के कुरा ।
तैपनि आमाको सेतो हुँदै गएको कपाल र अनुहारमा बढ्दै गरेको चाउरी देखेर कता कता मन अमिलो हुन्छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]