काठमाडौं । गुण्डागर्दी गरी म्यानपावरबाट झण्डै एक करोड रुपैयाँ असुलेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी अपराध महाशाखाले म्यानपावर कम्पनीबाट ९० लाख २५ हजार रुपैयाँ असुलेका काठमाडौंको गंगाहिटी घर भइ हाल सुकेधारा बस्ने ४० वर्षीय मिलन जोशी र दोलखाको भीमेश्वर नगरपालिका ५ माटीका ३५ वर्षीय रवीन्द्र बस्नेतलाई पक्राउ गरेको हो।

Nepal Telecome

उनीहरुले काठमाडौंको पानी पोखरीमा रहेको युनिभर्सल इन्टरनेसनल म्यानपावर कम्पनीका सञ्चालकसँग विदेश पठाउने हरेक श्रमिक बराबर २५ हजार रुपैयाँ लिने गरेको खुलेको छ। उनीहरुले त्यस क्षेत्रको दादा बताउँदै म्यानपावर सञ्चालकसँग रकम असुल्ने गरेको प्रमाण नै पाइएको महाशाखाका एसपी कृष्ण पंगेनीले बताए।

तर लकडाउनका कारण म्यानपावर व्यवसाय धराशयी बनेपछि म्यानपावरले रकम दिन छाडेपछि म्यानपावरका कर्मचारी माथि नै आक्रमण गरेको पीडितले प्रहरीलाई बताएका छन्।
कमिशन र दसैंखर्च समेत एकमुष्ट मागेपछि म्यानपावरले नदिएको र मंसिर १६ गते म्यानपावर कम्पनीमै पुगेर हातपात गरेको सूचनाका आधारमा पक्राउ गरिएको एसपी पंगेनीले बताए।

महाशाखाले उनीहरुलाई आपराधिक लाभ लिएको कसुरमा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको छ।