" />
काठमाडौँ । यति एयरलाइन्सको जहाजमा चालक दलका चार सदस्यसहित ७२ जना सवार रहेको पुष्टि भएको छ । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले ७२ जना सवार जहाज पोखरामा दुर्घटनाग्रस्त बनेको बताए ।
१०ः३३ मा काठमाडौंबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडेको जहाज पोखराको नयाँ र पुरानो विमानस्थलको बीचमा पर्ने सेती नदीको खोंचमा दुर्घटनाग्रस्त भएको हो । विमान अवतरण हुनै लाग्दा दुर्घटनामा परेको हो । एएनसी एटीआर ७२ जहाजमा क्याप्टेन कमल केसीले उडाएका थिए ।
दुर्घटनापछि जहाजमा आगलागी भएको छ । अहिले घटनास्थलमा उद्धारकर्मीहरुले उद्धार कार्य जारी राखेका छन् । भर्खरै सञ्चालनमा आएको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको बेला हुनै लाग्दा विमान दुर्घटनामा पर्नुलाई हवाई क्षेत्रका व्यक्तिहरुले नै आश्चर्यका रुपमा हेरेका छन् ।
सुगम भौगोलिक क्षेत्र र विमानस्थल नजिकै विमान खस्नु निकै दुःखद घटना भएको यति एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताएका छन् । ‘अवतरणको बेला टर्निङ लिँदा समस्या छ भन्ने सुनेको हो, आज त्यहि समस्याका कारण दुःखद दुर्घटना भएको अनुमान गरेका छौँ’, प्रवक्ता बर्तौलाले भने ।