काठमाडौं । त्रिभुवन आर्मी क्लबले जय ट्रफीको पहिलो खेल जितेको छ । शनिबार सम्पन्न खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई ९ विकेटले पराजित गरेको हो ।
आर्मीका स्पीन बलरले मिलेर ९ विकेट लिएपछि दोस्रो इनिङमा पुलिसले ८८ रन मात्र बनाएर ४१ रनको अग्रताका साथ आर्मीलाई ४२ रनको लक्ष्य दिएको थियो । पहिलो सत्रमै आर्मीले ९ विकेटको जित निकाल्यो ।

कुशल मल्लले विजयी चौका प्रहार गर्दै अविजित ४२ रन बनाए । इमरान शेख १ रनमा आउट भए । त्यसअघि दोस्रो इनिङमा ४७ रनले पछाडि परेको अवस्थाबाट ब्याटिङ गरेको पुलिस ८८ रनमा अलआउट भएर ४१ रनको अग्रता बनाएको थियो । कुशल भुर्तेलले सर्वाधिक ४८ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउनै सकेनन् । राशिद खान ९, शंकर राना ८, दिलसाद अली ६ रनमा आउट भए । अमित श्रेष्ठले ४ रन बनाउँदा कप्तान आरिफ शेखले ३ रन मात्र बनाए । आर्मीका लागि बसिर अहमदले ४ विकेट लिए । कुशल मल्लले ३ तथा शाहब आलमले २ अनि आकाश चन्दले १ विकेट लिए ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ५३।३ ओभरमा १५३–८ को अवस्थामा पहिलो इनिङ समाप्तिको घोषणा गरेको थियो । पुलिसका लागि राशिद खानले सर्वाधिक ३८ रन बनाए भने कप्तान आरिफ शेख ३६ रनमा अविजित रहँदा ओपनर कुशल भुर्तेलले ३० रन बनाए । दिलसाद अलीले २७ रन बनाए ।

Nepal Telecome

आर्मीका लागि पवन कार्कीले ४ विकेट लिए । आकाश चन्द, शाहब आलम, नरेन साउद र बसिर अहमदले १–१ विकेट लिए । त्यसपछि आर्मीले दोस्रो इनिङमा ९ विकेट गुमाएर २३४ रन बनाउँदै ४७ रनको अग्रताका साथ इनिङ घोषणा गरेको थियो । आर्मीका भीम सार्कीले ११३ बलमा १०५ रन बनाएर अविजित रहे । पवन कार्कीले ३७ तथा नरेन साउदले ३१ रन बनाए । पुलिसका लागि सागर ढकालले ६ विकेट लिए । ललित राजवंशीले २ तथा कुशल भुर्तेलले १ विकेट लिए ।