काठमाडौं । चीनका शिक्षामन्त्री हुवाइ चीनपीङले चीनको उच्च शिक्षामा भर्ना दर ६० प्रतिशतभन्दा माथि पुगेको बताएका छन् ।
उनले चीन अहिले विश्वकै सबैभन्दा ठूलो तथा गुणस्तरीय शिक्षा प्रणाली सञ्चालन गर्ने देश बनेको दाबी गरेका छन् ।
बेइजिङमा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री हुवाइले यो जानकारी दिएका हुन् । उक्त पत्रकार सम्मेलन चीनको संसद् नेश्नल पिपुल्स काँग्रसको १४औँ कार्यकालको चौथो अधिवेशनका क्रममा आयोजना गरिएको थियो ।
उनका अनुसार १४ औँ पञ्चवर्षीय योजना (२०२१–२०२५) अवधिमा चीनको उच्च शिक्षा प्रणालीले समाजका लागि करिब ५ करोड ५० लाख दक्ष जनशक्ति उत्पादन गरेको छ । उनले सन् २०१२ अघि उच्च शिक्षामा भर्ना दर ३० प्रतिशतभन्दा कम रहेकोमा अहिले त्यो बढेर ६० प्रतिशतभन्दा माथि पुगेको बताए ।
मन्त्री हुवाइका अनुसार पछिल्ला दुई वर्षमा चीनका विश्वस्तरीय विश्वविद्यालय र उत्कृष्ट विषयगत विश्वविद्यालयहरूले उच्च गुणस्तरका स्नातक कार्यक्रम विस्तार गर्दै थप ३८ हजार विद्यार्थी भर्ना गरेका छन् ।
यसका साथै विगत पाँच वर्षमा चीनले १८ वटा नयाँ स्नातक विश्वविद्यालय र ७० वटा नयाँ व्यावसायिक स्नातक कलेज स्थापना गरेको छ । यसले गर्दा स्नातक तहमा विद्यार्थी भर्ना संख्या ७ लाखले बढेको उनले जानकारी दिए । अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यलाई पनि चीनले तीव्र रूपमा विस्तार गरेको छ ।
मन्त्री हुवाइका अनुसार चीनले विदेशी विश्वविद्यालयहरूसँग सहकार्य गर्दै स्नातक वा सोभन्दा माथिल्लो तहमा ५४० भन्दा बढी संयुक्त शैक्षिक संस्था तथा कार्यक्रम स्थापना गरेको छ । यसबाट करिब ३ लाख ५० हजार विद्यार्थीलाई अध्ययनको अतिरिक्त अवसर सिर्जना भएको उनले बताए ।
चीन सरकारले उच्च शिक्षा विस्तार, अन्तर्राष्ट्रिय सहकार्य र गुणस्तरीय कार्यक्रममार्फत विश्वस्तरीय जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित शिक्षा क्षेत्रमा लगानी बढाइरहेको बताइएको छ ।
सीसीटीभी