काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले कुष्ठरोग प्रभावित व्यक्तिप्रति राज्यले पर्याप्त काम गर्न नसकेको स्वीकार गर्दै नेपाल सरकारका तर्फबाट क्षमा याचना गरेका छन् ।
२८औँ अन्तर्राष्ट्रिय आत्मसम्मान तथा आदर दिवस कार्यक्रमलाई सम्बोधन गर्दै सिन्हाले कुष्ठरोग स्वास्थ्यसँग सम्बन्धित समस्या भए पनि यसको सामाजिक, मनोवैज्ञानिक र आर्थिक प्रभाव अझ गम्भीर रहेको बताएका हुन् ।
उनले भने, ‘कुष्ठरोग एउटा स्वास्थ्य सम्बन्धि समस्या भएपनि यसको प्रभाव झन बढीरहेको छ । प्रभावित व्यक्तिलाई एउटा सामाजिक,मनोवैज्ञानिक र आर्थिक रुपमा असर पर्ने जटिल प्रक्रियाहरु र जटिल अवस्थाहरु जति तपाईंहरुले भोग्नु भएको छ त्यो हामीहरुले गर्नुपर्ने हो तर त्यति गर्न नसकेको अवस्था छ । त्यसको लागि म नेपाल सरकारको तर्फबाट क्षमा याचना गर्न चाहन्छु ।‘
उनले कुष्ठरोगबाट प्रभावित व्यक्तिहरूले भोग्दै आएका जटिल अवस्था र पीडालाई सम्बोधन गर्न राज्यले गर्नुपर्ने जति काम गर्न नसकेको उल्लेख गर्दै सरकारका तर्फबाट क्षमा मागे ।
मन्त्री सिन्हाले कुष्ठरोग प्रभावित व्यक्तिहरूले आफ्नो दैनिक जीवनमा हकअधिकार र आत्मसम्मानका लागि निरन्तर आवाज उठाइरहेको उल्लेख गर्दै त्यस आवाजलाई सम्मान गर्नुपर्नेमा जोड दिए । उनका अनुसार यस्तो आवाज नेपालमा मात्र नभई विश्वभर नै सामूहिक आन्दोलनका रूपमा विस्तार हुँदै गएको छ, जसको उदाहरण उक्त कार्यक्रम रहेको उनले बताए ।
उनले भने, ‘कुष्ठरोग प्रभावित व्यक्तिहरुले आफ्नो दैनिक जिवनमा हक अधिकार र आत्मसम्मानको लागि आफ्नो आवाज उठाइ रहनु भएको छ । त्यो आवाजमा आदर सम्मान राख्नु भएको छ । नेपालमा मात्रै नभैइ विश्वभरी नै यो सामुहिक आवाज बन्दै गैइरेहको छ । यसको उदाहरण आजको यो कार्यक्रम पनि हो ।’
त्यसैगरी उनले कुष्ठरोग निवारण योग्य स्वास्थ्य समस्या भए पनि रोगप्रतिको असामाजिक उपेक्षा र विभेदका कारण प्रभावित व्यक्तिहरूले अझै समस्या भोग्नुपरेको उल्लेख गरे । सामाजिक व्यवहारमा सुधार ल्याउन आवश्यक रहेको बताउँदै उनले यसको सुरुवात शिक्षाबाटै हुनुपर्ने धारणा राखे ।
उनले भने, ‘कुष्ठरोग निवारण योग्य स्वास्थ्य समस्या भए पनि यो रोगप्रतिको असामाजिक उपेक्षाले हामीले एकआपसमा गर्ने सामाजिक व्यवहार सुधार गर्न आवश्यक छ । यसको सुरुवात शिक्षाबाट नै हुन्छ ।’
