विराटनगर । प्रतिनिधिसभा निर्वाचन २०८२ को अन्तिम समानुपातिक मत परिणामले कोसी प्रदेशको राजनीतिक शक्ति सन्तुलनमा ठुलो परिवर्तन देखाएको छ । सुनसरी क्षेत्र नम्बर १ बाट उदाएको श्रम संस्कृति पार्टी प्रदेशमा दोस्रो ठुलो दलका रूपमा स्थापित भएको छ भने परम्परागत दल पछि परेका छन् ।
निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको समानुपातिकतर्फको अन्तिम मतपरिणाम अनुसार हर्कराज राई साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले २ लाख ९२ हजार ४९ मत प्राप्त गर्दै दोस्रो स्थान सुरक्षित गरेको हो ।
प्रदेशमा प्रत्यक्षतर्फ तीन सिट जितेको उक्त पार्टीले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीजस्ता पुराना दललाई मतसंख्यामा उछिनेको छ ।
समानुपातिकतर्फ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्पष्ट अग्रता कायम गर्दै पहिलो दल बनेको छ । रास्वपाले ८ लाख ५३ हजार १८३ मत प्राप्त गरेको छ । प्रत्यक्षतर्फ पनि रास्वपाले कोसी प्रदेशका १७ सिट जित्दै सबैभन्दा ठुलो शक्ति बनेको छ ।
यसैबीच, प्रत्यक्षतर्फ चार सिट जितेको नेपाली कांग्रेस समानुपातिकतर्फ २ लाख ९० हजार ५६२ मतसहित तेस्रो स्थानमा रहेको छ ।
त्यसैगरी, प्रत्यक्षतर्फ चारै सिट जितेको नेकपा एमाले भने २ लाख ८८ हजार १८६ मतसहित चौथो स्थानमा सीमित भएको छ ।
कोसी प्रदेशमा प्रत्यक्षतर्फ कुनै सिट जित्न नसकेको नेपाल कम्युनिष्ट पार्टी समानुपातिकतर्फ ९७ हजार ६७९ मतसहित पाँचौँ स्थानमा रहेको छ ।
राजसंस्था र हिन्द राज्यको एजेन्डा उठाउँदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी पनि अपेक्षाकृत कमजोर देखिएको छ । प्रत्यक्षतर्फ कुनै सिट नजितेको राप्रपा समानुपातिकतर्फ ६२ हजार ८९९ मतसहित छैटौँ स्थानमा सीमित भएको छ ।
त्यसैगरी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल समानुपातिकतर्फ आठौँ स्थानमा पुगेको छ । जसपा नेपालले प्रदेशभर १३ हजार ८ सय ४० मत प्राप्त गरेको छ ।
निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ कोसी प्रदेशमा त्रिमूल नेपालले सबैभन्दा कम १ सय ५ मत प्राप्त गरेको छ ।