सर्लाही । सर्लाहीको कबिलासी नगरपालिका–१० स्थित चमेली माई मन्दिर पछाडि रहेको फन पार्क क्षेत्रमा एक युवकलाई नाङ्गै बनाएर निर्घात कुटपिट गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गत फागुन २३ गते दिउँसो करिब ४ बजे उक्त स्थानमा एक युवकलाई नाङ्गै बनाएर कुटपिट गरिएको घटना सार्वजनिक भएको थियो। घटनामा जिल्लाको चक्रघट्टा गाउँपालिका–९ बस्ने १९ वर्षीय प्रमित कुमार यादव घाइते भएका छन् ।

Nepal Telecome

उक्त घटनामा संलग्न रहेको आरोपमा कबिलासी नगरपालिका–१० का २९ वर्षीय रोहित कुमार यादवसहितका व्यक्तिहरू विरुद्ध ज्यान मार्ने उद्योग, अपमानजनक तथा अमानवीय व्यवहार तथा कुटपिट अंगभंग सम्बन्धी कसुरमा राजेन कुमार यादवले फागुन २९ गते जाहेरी दर्ता गराएका थिए ।

जाहेरीका आधारमा प्रहरीले सोही दिन प्रतिवादीमध्येका रोहित कुमार यादवलाई पक्राउ गरी अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेका यादवलाई गत फागुन २९ गतेदेखि लागू हुने गरी सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न अन्य प्रतिवादीहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरीले जनाएको छ । सार्वजनिक भिडियोमा ती युवकले आफूलाई कुटपिट नगर्न आग्रह गर्दै हात जोडी रहेका देखिन्छ तर पनि कुटपिट गर्नेहरूले उनलाई कुटपिट गरिरहेको देखिएको छ ।