काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारी संस्थाबाट ऋण लिएर नतिर्ने ऋणीहरूलाई कर्जा तत्काल चुक्ता गर्न सार्वजनिक सूचना जारी गरेको छ ।
समितिले मंगलबार जारी गरेको सूचनामा ऋणीहरूलाई साँवा, ब्याज तथा हर्जानासहितको सम्पूर्ण बक्यौता रकम यथाशीघ्र भुक्तानी गर्न आग्रह गरिएको छ । सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषित सहकारीहरूको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी प्रक्रिया अघि बढाइएको समितिले जनाएको छ ।
बचतकर्ताहरूको रकम फिर्ता गर्ने उद्देश्यले ऋणीहरूबाट असुल हुन बाँकी रकम संकलन गर्न आवश्यक भएको भन्दै समितिले समयमै कर्जा तिर्न सबै सम्बन्धित पक्षलाई ताकेता गरेको हो ।
यसैबीच, समस्याग्रस्त सहकारी संस्थाका सञ्चालक, व्यवस्थापक, ऋणी सदस्य तथा जमानीकर्ताहरूलाई समेत तत्काल समितिको कार्यालयमा सम्पर्क राख्न भनिएको छ । तोकिएको समयभित्र कर्जा भुक्तानी नगरे वा सम्पर्कमा नआए कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने समितिले चेतावनी दिएको छ ।
