काठमाडौं । रत्ननगर नगरपालिका वडा नं. ३ ले एक कार्यक्रम आयोजना गरी प्रगतिशील साहित्यकार मोदनाथ मरहठ्ठालाई सम्मान गरेको छ । वडा कार्यालयले स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रमको आयोजना गरी प्रगतिशील साहित्यकार मरहठ्ठालाई सम्मान गरेको हो । आफ्नै आँगनमा सम्मान मिलेको भन्दै कवि मरहठ्ठाले आफूलाई जहिले पनि सत्ताको विपक्षीमा देखेको बताए । कविताबाट खबरदारी गर्दा सरकारमा रहेकाले जहिले पनि प्रतिपक्ष देख्दो रहेछ कवि मरहठ्ठाले सम्मानपछि बोल्दै भने– ‘मोदनाथ मरहठ्ठालाई सत्ताले सधैं लेखेट्छ भन्छन् तर म साहित्यबाट खबरदारी गरिहेको मात्र हो ।’

साहित्यबाट क्रान्तिको यात्रा गरेका मोदनाथ मरहठ्ठाका कविता, निबन्ध र आख्यानका पुस्तकहरु प्रकाशित छन् । लामो समयसम्म शिक्षण पेशामा रहेका मरहठ्ठा पञ्चायतकालदेखि हालसम्म पनि प्रगतिशील साहित्यमा आफूलाई समाहित गर्दै आएका छन् । जनयुद्धताका साहित्यबाट परिवर्तनको आवाज उठाएकै कारण जेलनेल भोगेका मरहठ्ठाले साहित्यमा नै जीवन समर्पित गर्दै आएका छन् । गोरखाको सिरानचोक ३ हर्मीमा जन्मिएका कवि मरहठ्ठा हाल रत्ननगर नगरपालिका ३ चितवनमा बसोबास गर्दै आएका छन् ।