भक्तपुर । राधेराधे चोकमा रहेको १७ तले विशाल भवन निर्माण सुरु भएको करिब दुई दशक बितिसक्दा पनि अधुरै छ। २०६७ सालतिर सुरु भएको यो परियोजना मुख्य संरचना बनेपछि रोकिएको हो। अहिले भवन खण्डहरजस्तै देखिन्छ र स्थानीयका लागि राधेराधेको चिनारी बनेको छ।
निर्माण सुरु हुँदा यहाँ पाँचतारे होटल र व्यापारिक केन्द्र बन्ने अपेक्षा गरिएको थियो। तर परियोजना रोकिएपछि स्थानीयको आशा निराशामा बदलिएको छ। अहिले भवनको पहिलो तलामा रेखदेख गर्ने परिवारबाहेक अन्य सबै तलाहरू सुनसान छन्।
यो भवनलाई धेरैले भारतीय अभिनेता गोविन्दाको भवन भनेर चिन्ने गरे पनि स्थानीयका अनुसार गोविन्दा एकपटक अवलोकनका लागि आएका कारण यस्तो चर्चा चलेको हो। परियोजना भने जगदम्बा ग्रुपसँग सम्बन्धित रहेको बताइन्छ।
नेपाल न्यूज बैंकको स्थलगत रिपोर्टिङका क्रममा भवनभित्र प्रवेश गर्न सुरक्षाकर्मीले रोक लगाए। रेखदेखमा खटिएका व्यक्तिले भवन जगदम्बा ग्रुपको भएको बताए पनि थप जानकारी दिन अस्वीकार गरे।
मध्यपुर थिमि नगरपालिकाले पनि विषय अध्ययनकै क्रममा रहेको भन्दै प्रतिवेदन आएपछि मात्र धारणा सार्वजनिक गर्ने जनाएको छ। निर्माण किन रोकियो र भवनको भविष्य के हुने भन्ने प्रश्न भने अझै अनुत्तरित छन्।



