काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतका तीन संसदीय समितिको बैठक शुक्रबार बस्दैछ। बैठकमा पर्यटन विधेयक, विद्युत् वितरण लाइन व्यवस्थापन तथा कारागार र हिरासतमा रहेका कैदीबन्दीको मानवअधिकार अवस्थालगायत विषयमा छलफल हुने कार्यसूची रहेको छ।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक बिहान १०ः३० बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्नेछ। बैठकमा ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धमा विषयविज्ञहरूसँग छलफल गरिनेछ। छलफलका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवसहित पर्यटन क्षेत्रका विज्ञ प्रचण्डमान श्रेष्ठ, दीपकराज जोशी, बलसागर गिरी र धनेन्द्र श्रेष्ठलाई आमन्त्रण गरिएको छ।

Nepal Telecome

यस्तै, पूर्वाधार विकास समितिको बैठक बिहान १० बजे बस्नेछ। बैठकमा विद्युत् वितरण लाइन, विद्युत्का पोल व्यवस्थापन नहुँदा सडक निर्माणमा भएको ढिलाइ तथा त्यसको समाधानका उपायबारे छलफल हुने कार्यसूची छ। बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, मन्त्रालयका सचिव, सडक विभाग र नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिलाई आमन्त्रण गरिएको छ।

त्यसैगरी, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक पनि बिहान १० बजे सिंहदरबारमा बस्नेछ। बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानवअधिकार अवस्थासम्बन्धी अध्ययन उपसमिति, २०८३ को प्रतिवेदन पेस तथा छलफल गरिनेछ। साथै नयाँ उपसमिति गठन र अन्य समसामयिक विषयमा पनि छलफल हुने कार्यसूची रहेको छ।