काठमाडौं । तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन आज(सोमबार)देखि काठमाडौंमा सुरु भएको छ । मातृभाषामा पत्रकारिताको विकास, प्रवद्र्धन, संरक्षण तथा यस क्षेत्रमा देखिएका चुनौतीबारे छलफल गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनमा मातृभाषामा पत्रकारिता गर्दै आएका सञ्चारकर्मी, पत्रकार, सञ्चारविद् तथा विभिन्न भाषिक समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

Nepal Telecome

कार्यक्रममा मातृभाषाको प्रयोगमार्फत सञ्चारको पहुँच विस्तार, भाषिक पहिचानको संरक्षण तथा स्थानीय समुदायका आवाजलाई सञ्चारको मूलधारमा ल्याउने विषयमा छलफल हुने जनाइएको छ ।

कार्यक्रममा नेवा दवूका अध्यक्ष नृपेनद्र लाल श्रेष्ठले स्वागत गरेका थिए ।

तीन फरक शैलीमा सम्मेलनको उद्घाटन

सम्मेलनको उद्घाटन भने फरक र प्रतीकात्मक शैलीमा गरिएको छ । सम्मेलनलाई तीन फरक विधिबाट उद्घाटन गरिएको हो ।

पहिलो चरणमा कार्यक्रमकी प्रमुख अतिथि कानुनमन्त्री सोविता गौतमले पानसमा दीप प्रज्वलन गरेर सम्मेलनको उद्घाटन गरिन् । परम्परागत रूपमा गरिँदै आएको दीप प्रज्वलनमार्फत सम्मेलनको औपचारिक सुरुवात गरिएको हो ।

त्यसपछि जलवायु परिवर्तनको सन्देश दिने उद्देश्यले गमलामा पानी हालेर सम्मेलनको दोस्रो उद्घाटन गरिएको थियो । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका विषयलाई मातृभाषा पत्रकारितासँग जोडेर सन्देश दिन यस्तो प्रतीकात्मक कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

त्यस्तै, सम्मेलनको तेस्रो उद्घाटन बोन विधिका लामा लामाहरूले मातृभाषामा मन्त्र जाप गरेर गरेका थिए । मातृभाषा, संस्कृति, परम्परा र धार्मिक अभ्यासबीचको सम्बन्धलाई उजागर गर्ने उद्देश्यले मन्त्र जापसहितको उद्घाटन गरिएको हो ।

मातृभाषा पत्रकारिताका चुनौतीबारे छलफल

सम्मेलनमा मातृभाषामा पत्रकारिता गर्दा सञ्चारकर्मीले भोगिरहेका विभिन्न चुनौतीबारे छलफल गरिनेछ । मातृभाषामा सञ्चार सामग्री उत्पादन तथा प्रकाशनका लागि आवश्यक जनशक्ति, स्रोतसाधन, प्रविधि र आर्थिक व्यवस्थापनका विषयलाई पनि प्राथमिकताका साथ उठाइने आयोजकले जनाएको छ ।

नेपाल बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएकाले विभिन्न समुदायका मातृभाषामा सञ्चारको विकास आवश्यक रहेको सहभागीहरूले बताएका छन् । मातृभाषामा समाचार तथा सूचना प्रवाह गर्दा स्थानीय समुदायका विषय, समस्या, संस्कृति र पहिचानलाई प्रभावकारी रूपमा उजागर गर्न सकिने उनीहरूको भनाइ छ ।

भाषिक पहिचान संरक्षणमा पत्रकारिताको भूमिका

मातृभाषा पत्रकारिता भाषाको संरक्षण र पुस्तान्तरणको महत्वपूर्ण माध्यमसमेत रहेको कार्यक्रममा चर्चा गरिएको छ । नयाँ पुस्तामा मातृभाषाको प्रयोग घट्दै गएको अवस्थामा सञ्चारमाध्यममार्फत भाषाको प्रयोग बढाउन सकिने सरोकारवालाको धारणा छ ।पत्रकारितामा मातृभाषाको प्रयोग विस्तार हुँदा समुदायका नागरिकले आफ्नै भाषामा सूचना प्राप्त गर्ने अवसर पाउने तथा आफ्नो भाषा र संस्कृतिप्रति अपनत्वसमेत बढ्ने अपेक्षा गरिएको छ ।सम्मेलनमा मातृभाषामा सञ्चालित सञ्चारमाध्यमलाई व्यावसायिक तथा संस्थागत रूपमा बलियो बनाउने, पत्रकारको क्षमता विकास गर्ने र डिजिटल प्रविधिको प्रयोगमार्फत मातृभाषाका सामग्रीको पहुँच विस्तार गर्ने विषयमा समेत छलफल हुने बताइएको छ ।

डिजिटल माध्यममा मातृभाषाको विस्तार

पछिल्लो समय अनलाइन सञ्चारमाध्यम, सामाजिक सञ्जाल, भिडियो, पोडकास्टलगायत डिजिटल प्लेटफर्मको विस्तारसँगै मातृभाषा पत्रकारिताका लागि नयाँ अवसर सिर्जना भएको छ ।

सम्मेलनले परम्परागत सञ्चारमाध्यमसँगै डिजिटल प्लेटफर्ममा मातृभाषाको प्रयोग विस्तार गर्ने विषयलाई पनि प्राथमिकतामा राख्नेछ । मातृभाषामा गुणस्तरीय डिजिटल सामग्री उत्पादन गरी नयाँ पुस्तासम्म पुर्याउने तथा प्रविधिको प्रयोगबाट भाषाको संरक्षण र प्रवद्र्धन गर्ने विषयमा सहभागीबीच अनुभव आदानप्रदान हुने अपेक्षा गरिएको छ ।

विविधता र समावेशी सञ्चारमा जोड

सम्मेलनले भाषिक विविधतालाई नेपालको मौलिक विशेषताका रूपमा स्थापित गर्दै समावेशी सञ्चार प्रणाली विकास गर्न योगदान पु¥याउने आयोजकको विश्वास छ ।

मातृभाषामा पत्रकारिता गर्ने सञ्चारकर्मीबीच सहकार्य र अनुभव आदानप्रदानसँगै नीति निर्माण तहमा मातृभाषा पत्रकारिताका विषयलाई प्राथमिकता दिनुपर्ने आवश्यकतासमेत सम्मेलनमा उठ्नेछ ।

तीन फरक सांस्कृतिक तथा प्रतीकात्मक विधिबाट उद्घाटन गरिएको सम्मेलनले मातृभाषा, वातावरण, संस्कृति र पत्रकारिताबीचको सम्बन्धलाई समेत प्रस्तुत गरेको छ । सम्मेलनबाट मातृभाषा पत्रकारिताको विकास, संरक्षण र आगामी कार्यदिशाका लागि ठोस निष्कर्ष तथा सुझाव आउने अपेक्षा गरिएको छ ।