काठमाडौं । परिवर्तन नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको विशेष समारोहमा विभिन्न व्यक्तित्व तथा कलाकर्मीलाई २०८२ सालको दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार, चेतन कार्की स्मृति पुरस्कार तथा परिवर्तन सम्मान अर्पण गरेको छ।
समारोहमा कलाकार शारदा गिरी तथा निर्देशक–कलाकार विश्वदीप घिमिरेलाई २०८२ सालको ‘दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार’ प्रदान गरिएको छ। त्यस्तै, सञ्चारकर्मी कृष्ण भट्टराईलाई ‘चेतन कार्की स्मृति पुरस्कार’ प्रदान गरिएको हो।

नेपाली चलचित्र क्षेत्रको विकास, विस्तार तथा पेशाकर्मीको उत्थानका लागि तीन दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रही योगदान पुर्याएबापत भट्टराईलाई चेतन कार्की स्मृति पुरस्कार प्रदान गरिएको हो। २०७९ सालमा स्थापना भएको उक्त पुरस्कारबाट सम्मानित भट्टराई हाल कलाकर्मी डटकमका प्रधान सम्पादक तथा प्रकाशकका रूपमा कार्यरत छन्।
विगत चार दशकदेखि नेपाली चलचित्र तथा टेलिफिल्ममा अभिनय गर्दै आएकी कलाकार शारदा गिरी र अढाई दशकभन्दा बढी समयदेखि नेपाली रंगमञ्च, चलचित्र तथा टेलिफिल्ममा निर्देशन तथा अभिनय गर्दै आएका विश्वदीप घिमिरेलाई ‘दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार’ प्रदान गरिएको हो। २०७३ सालमा स्थापना गरिएको उक्त पुरस्कारको राशि जनही १५ हजार रुपैयाँ रहेको छ।
परिवर्तन नेपालले आफ्नो स्थापनाकाल विसं २०५३ सालदेखि विभिन्न स्रष्टा, सर्जक तथा संस्थासँग आबद्ध चलचित्रकर्मीलाई ‘परिवर्तन विशेष सम्मान’ प्रदान गर्दै आएको छ।
यसै क्रममा आफ्नो कला यात्राको प्रारम्भिक चरणमा परिवर्तन नेपालसँग आबद्ध रहेका लोकप्रिय अभिनेता आर्यन सिग्देल, अभिनेता आशान्त शर्मा, कलाकार सरोज ओली तथा ललितकला कलाकार देवेन्द्र थुम्केलीलाई ‘परिवर्तनकर्मी विशेष सम्मान’ प्रदान गरिएको छ।
त्यस्तै, चलचित्रमा छायाँकारका रूपमा काम गर्दै प्राविधिकहरूको पेशागत हकहितका लागि प्रतिबद्ध भएर योगदान पुर्याउँदै आएका छायाँकार वीरेन्द्रप्रसाद भट्ट तथा गीत–संगीतको क्षेत्रमा पत्रकारिता र अवार्ड आयोजनामार्फत योगदान पुर्याउँदै आएकी सविता पोखरेललाई ‘परिवर्तन पत्रकारिता सम्मान’ प्रदान गरिएको छ।

समारोहमा चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष दिनेश डिसीलाई नेपाली चलचित्र क्षेत्रको श्रीवृद्धिमा पुर्याएको योगदानको कदर गर्दै ‘परिवर्तन विशेष सम्मान’ प्रदान गरिएको थियो।
नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्दको सभापतित्वमा आयोजित समारोहमा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, टीका पहारी, परिवर्तन नेपालका अध्यक्ष मोहन निरौला, अभिनेत्री भुवन चन्द, चैत्यदेवी, शिव श्रेष्ठ, धीरेन शाक्य, नेपाल सरकारका सचिव मुकुन्दप्रसाद निरौला, विपिनराज निरौला, परिवर्तन नेपालका उपाध्यक्ष तथा संगीतकार सन्तोष श्रेष्ठलगायतले सम्मानित तथा पुरस्कृत व्यक्तित्वलाई पुरस्कार तथा सम्मान अर्पण गरेका थिए।
समारोहमा परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले स्वागत मन्तव्य व्यक्त गर्दै पितृपक्षको अवसर पारेर आफ्ना दिवंगत माता–पिता दुर्गादेवी तथा पुण्य निरौला र वरिष्ठ चलचित्रकर्मी चेतन कार्कीको स्मृतिमा सम्मान तथा पुरस्कार अर्पण गरिएको बताए।
वरिष्ठ कलाकार टीका पहारीले परिवर्तन नेपालले नेपाली कलाकारिता क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गरेर समाजमा सकारात्मक ऊर्जा प्रदान गरिरहेको धारणा व्यक्त गरे।
पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले चलचित्रले नेपालको कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै यस क्षेत्रमा सक्रिय व्यक्तित्वलाई सम्मान तथा पुरस्कृत गरेर परिवर्तन नेपालले पुण्यको काम गरेको बताए।
त्यस्तै, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष विपिनराज निरौलाले पूर्व प्रशासक तथा साहित्यकार पुण्य निरौला र संस्कृतिविद् एवं चलचित्रकर्मी चेतन कार्कीको योगदानबारे चर्चा गरे।

सम्मानित व्यक्तित्वका तर्फबाट मन्तव्य राख्दै देवेन्द्र थुम्केलीले आयोजक संस्था परिवर्तन नेपालप्रति आभार व्यक्त गरे।
चलचित्र निर्देशक तथा सञ्चारकर्मी माधवराज खरेलद्वारा सञ्चालित कार्यक्रममा परिवर्तन नेपालका उपाध्यक्ष तथा संगीतकार सन्तोष श्रेष्ठले कलाकारलाई सम्मान तथा पुरस्कृत गर्ने कार्यलाई आगामी दिनमा समेत निरन्तरता दिइने बताए।
कार्यक्रममा विशिष्ट चलचित्रकर्मी कृष्ण मल्ल, शर्मिला मल्ल, उत्तम केसी, रवीन्द्र खड्का, दिनेश कार्की, सावित्री कोइराला, गोपालकाजी कायस्थ, धीरेन शाक्य, आकाश अधिकारी, चैत्यदेवी सिंहलगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।


