काठमाडौं । नेपाली गीतसंगीत क्षेत्रका स्रष्टा तथा गीतकार टीका चामलिङको ५३ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि क्यान्सर रोगको उपचार गराइरहेका चामलिङको आज बिहान निधन भएको हो।
उनको निधनले नेपाली गीतसंगीत क्षेत्रमा अपूरणीय क्षति पुगेको भन्दै गीतकार संघ नेपालले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको थियो। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राङ्गणमा उनको पार्थिव शरीर राखेर संगीतकर्मी, साहित्यकार, स्रष्टा तथा शुभेच्छुकहरूले श्रद्धाञ्जली अर्पण गरेका थिए। सभामा पूर्वमन्त्री एवं वरिष्ठ कवि गीतकार एस्पी कोइराला, कूलपति ब्रजेश खनाल, सदस्यसचिव भूपेन्द्र रायमाझी, गीतकार संघ नेपालका अध्यक्ष बसन्त वित्यासी थापा, पूर्व अध्यक्ष शुभ मुकारुङ, उपाध्यक्ष रमेश कोइराला, कोषाध्यक्ष चेतन खतिवडा, संगीतकार बसन्त मुकारुङ, शान्तिराम राई, गणेश पराजुली, गीतकार गौरव गुरुङ, डीआर राई, सुमन बैरागी, गायक लाक्पा शेर्पा, अशोक मुकारुङ लगायतका विशिष्ट स्रष्टाहरुको उपस्थिति रहेको थियो ।
श्रद्धाञ्जली सभामा गायक गायिकाहरुले उनको सैहँमा गीत गाएर सांगीतिक रुपमा श्रद्धाञ्जली दिएका थिए ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञसमेत रहेका चामलिङले नेपाली गीतसंगीतको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका थिए। उनका सात सयभन्दा बढी गीत प्रकाशित छन्। गीत लेखनसँगै साहित्य सिर्जनामा समेत सक्रिय उनका गीतका पुस्तक, सांगीतिक एल्बम तथा कविता संग्रहसमेत प्रकाशित छन्।
नेपाली मौलिक गीतसंगीत र साहित्य सिर्जनामा निरन्तर योगदान पुर्याएका चामलिङको निधनले सिर्जनशील क्षेत्रमा ठूलो रिक्तता पैदा गरेको छ। उनको पार्थिव शरीरमाथि काठमाडौंमा श्रद्धाञ्जली अर्पण गरिएपछि जन्मथलो खोटाङ लगेर अन्त्येष्टि गरिएको छ।
नेपाली गीतसंगीत र साहित्य क्षेत्रमा पुर्याएको योगदानका कारण गीतकार टीका चामलिङ सधैँ स्मरणीय रहनेछन्।
२०३० माघ ४ गते खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा जन्मिएका चाम्लिङको दुई सय बढी गीत रेकर्ड छन् । उनको सधैंभरि गीति अडियो–२०५८, राखौ सम्झना, लोकजुहारी शब्द संकलन–२०५९, सोमबारे हाटैमा, सपनाको रङ गीतिकाव्य–२०६०, समयको रङ गीतिकाव्य–२०६४, जूनको बस्ती गीतिकाव्य–२०६८, मुन्दुम र मालिङ्गो गीतिकाव्य–२०७१, बागी कविता कविताकाव्य–२०८० लगायत प्रकाशित छन् ।
चाम्लिङले २०६१ सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी आधुनिक गीत–सङ्गीत सम्मेलनमा रचनातर्फ सर्वोत्कृष्ट गीतकार, २०७५ सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी बाल गीत–सङ्गीत सम्मेलनमा रचनातर्फ सर्वोत्कृष्ट गीतकार, २०७३ सालमा नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको नेपाली प्रतिभा पुरस्कार, २०७२ सालमा खोटाङ सेवा समाज, बेलायतको खोटाङ प्रतिभा पुरस्कार, २०७८ सालमा कोशी प्रदेश सरकारको प्रदेश भाषा, साहित्य, कला र संस्कृति सम्मान लगायतका दर्जर्नौ सम्मान तथा पुरस्कार प्राप्त गरेका थिए ।


