काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्दै समाजवादी आन्दोलनको बलियो राजनीतिक केन्द्र निर्माण गर्ने प्रयास जारी रहेको बताएका छन्। राष्ट्रिय स्वाधीनताको रक्षा, संगठन सुदृढीकरण र जनतासँग पार्टीको सम्बन्ध विस्तार गर्ने उद्देश्यले दुईमहिने राष्ट्रिय जागरण अभियान सञ्चालन गरिएको उनले बताए।

Nepal Telecome

नेपाली कम्युनिस्ट पार्टी उपत्यका प्रदेश समितिद्वारा आयोजित बृहत् प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले राष्ट्रिय जागरण अभियानलाई पार्टी पुनर्निर्माण, संगठनात्मक सुदृढीकरण र आगामी स्थानीय तह निर्वाचनको तयारीसँग जोडिएको बताए।

उनका अनुसार अभियानका मुख्य उद्देश्य पार्टी सदस्यता नवीकरण, संगठनात्मक समायोजन, स्थानीय निर्वाचनको प्रारम्भिक तयारी र पार्टी महाधिवेशनको तयारीलाई अघि बढाउनु रहेका छन्। अभियानलाई पार्टी र जनताबीचको सम्बन्ध थप मजबुत बनाउने माध्यमका रूपमा समेत अघि बढाइएको उनले बताए।

प्रचण्डले विभिन्न कम्युनिस्ट घटकबीच एकता, समायोजन र राजनीतिक ध्रुवीकरणको प्रक्रिया निरन्तर चलिरहेको उल्लेख गर्दै साना–ठूला कम्युनिस्ट समूहलाई एउटै राजनीतिक केन्द्रमा ल्याउने प्रयास भइरहेको बताए। नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र नेकपा मसालसँग दुईबुँदे प्रस्ताव अघि बढाइएको जानकारी दिँदै उनले विभिन्न राजनीतिक शक्तिसँग संवाद र सहकार्य जारी रहेको बताए।

उनले भने, “हामीले कम्युनिस्ट आन्दोलनको एकताको झन्डालाई अझ माथि उठाउने लक्ष्य लिएका छौँ। नेपालका साना–ठूला कम्युनिस्ट समूहहरूलाई एउटै केन्द्रमा ल्याउने हाम्रो प्रयास जारी छ।”

शान्ति सम्झौता, संविधानसभा तथा संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर राजनीतिक शक्तिहरूसँग पनि सहकार्य र मोर्चाबन्दीका लागि छलफल भइरहेको प्रचण्डले बताए। राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, गणतन्त्र र समावेशिताका पक्षमा रहेका शक्तिहरूलाई साझा राजनीतिक मोर्चामा आबद्ध गराउने पहल भइरहेको उनको भनाइ थियो।

शान्ति सम्झौता र संविधान निर्माणपछि अन्तर्राष्ट्रिय कम्युनिस्ट तथा समाजवादी शक्तिसँग सम्बन्ध विस्तारमा अपेक्षित ध्यान दिन नसकिएको स्वीकार गर्दै प्रचण्डले अब अन्तर्राष्ट्रिय राजनीतिक सम्बन्ध र सहकार्यलाई थप विस्तार गरिने बताए।

विश्व राजनीति एकध्रुवीय व्यवस्थाबाट बहुध्रुवीय व्यवस्थातर्फ अघि बढिरहेको उल्लेख गर्दै उनले युरोप, अमेरिका तथा ल्याटिन अमेरिकाका विभिन्न देशमा समाजवादी र कम्युनिस्ट विचारप्रति आकर्षण बढिरहेको दाबी गरे। नेपाली कम्युनिस्ट पार्टीले अन्तर्राष्ट्रिय राजनीतिक मञ्चमा सहभागिता बढाउँदै विभिन्न देशका कम्युनिस्ट पार्टीसँग संवाद, सहकार्य र सम्बन्ध विस्तारलाई प्राथमिकता दिइरहेको उनले बताए।