प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति भएका तीनजना वरिष्ठ प्रहरी अधिकृतलाई दर्ज्‍यानी चिन्ह प्रदान गरेका छन्।

प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक तारिणीप्रसाद लम्साल, शैलेस थापा क्षेत्री र हरिबहादुर पाललाई दर्ज्‍यानी चिन्ह प्रदान गरेका हुन्। दर्ज्‍यानी चिन्ह प्रदानपछि बधाई तथा शुभकामना दिँदै सांगठानिक योगदान थप महत्वपूर्ण हुने भएकोले नेतृत्व, निर्णय क्षमता, सांगठानिक दृष्टिकोणप्रति दृढ अडान राख्दै आफ्नो ज्ञान, सीप, क्षमताको प्रदर्शन गरी काम गर्नुपर्ने बताए।

प्रहरी अधिकृतहरूको मेहनत, लगनशीलता, इमानदारिता र प्रष्ट सेवा भावको कदर स्वरुप पदोन्नति भएको महानिरीक्षक ज्ञवालीले चर्चा गरेका थिए।

Nepal Telecome

उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक तारिणीप्रसाद लम्सालले व्यवसायिक क्षमता, नागरिक र राष्ट्रप्रतिको सेवाभावको मूल्याङ्कनस्वरुप भएको पदोन्नतिले थप जिम्मेवारीबोध भएको बताएका थिए।

गौरवमय इतिहास बोकेको प्रहरी संगठनको श्रीवृद्धिको लागि आफूहरू प्रतिबद्ध रहेको उल्लेख गरेका थिए। कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंह, प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत तथा प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।