बाजुरा । बाजुरामा पुनः वर्षासँगै हिमपात भएको छ । माघ महिनाको दोस्रो साता यहाँ दुई पटक हिमपात भएको थियो ।
पुन: चैत्र महिनामा हिमपात भएको हो । आइतबार बिहानैदेखि मौसम बदली हुँदा गएराती भारी वर्षा सँगै हिमपात भएको हो ।
बाजुराका उच्च लेकाली तथा हिमाली भू-भागमा वर्षा र हिमपात हुँदा अत्यधिक चिसो समेत बढेको छ । यहाँका नौ वटै स्थानीय तहका उच्च लेकाली तथा हिमाली क्षेत्रमा भारी हिमपात भएको हो । हिउँ परेर चिसो बढ्दा वन्यजन्तु समेत तलतिर झरेका छन् ।
अहिले पुनः यहाँका हिमालहरू हिउँको घुम्टोमा सजिएका हुन् । उच्च हिमाली क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय स्थलमा भारी हिमपात भएको हो।
रातभरको वर्षा र हिमपातले अत्यधिक चिसो बढ्दा हिमाली क्षेत्रमा जीवन कष्टकर बनेको छ । बालबालिका र बृद्धबृद्धा चिसोबाट बढी प्रभावित बनेका हुन् ।
वर्षा तथा हिमपात हुँदा जिल्लाका पर्यटकीय स्थल बडिमालिका, बूढीनन्दा, सुनन्दा, रानीसैन, कालाजग्रा, बडालेखल, लगायतका उच्च हिमाली तथा लेकाली क्षेत्र सेताम्मे बनेका छन् । जिल्लामा यो वर्ष तेस्रो पटक हिमपात भएको हो ।