काठमाडौँ : आबुधावी डाइलगमा सहभागी हुन संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा अव्दुलरहमान अव्दुलमानन अल अवार बीच बुधवार भेटवार्ता भएको छ ।

भेटमा मन्त्री श्रेष्ठले युएईमा कार्यरत नेपाली श्रमिकको हक हित र सामाजिक सुरक्षाका विषयमा युएईका मानव संशाधन मन्त्री अवारसँग छलफल गर्नुभएको थियो । सो क्रममा नेपाल– युएई द्विपक्षीय वैठक आयोजना गर्ने, युएई जाने नेपाली कामदार लक्षित सीपमूलक तालिम संचालन गर्ने, इन्जिजियर, डाक्टर, नर्सलगायत दक्ष र प्राविधिक कामदार युएई पठाउने, सामाजिक सुरक्षा योजना विस्तार गर्ने लगायत विषयमा छलफल भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

Nepal Telecome

आवुधावीमा अन्य कुटनीतिक भेटघाट
आबुधाबी डायलगको छैटौँ मन्त्रिस्तरीय बैठकमा सहभागी नेपाली टोलीले आबुधावीमा अन्य कूटनीतिक भेटवार्ता गरेको छ । नेपाली श्रमिकले वैदेशिक रोजगारीका क्रममा भोग्दै आएका समस्या समाधानमा केन्द्रित रहेर श्रम मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले कतार, साउदी अरेविया र मलेसियाका समकक्षीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो ।

कतारसँगको सचिवस्तरीय बैठकमा द्विपक्षीय श्रम सम्झौता, नोभेम्बर ८ र ९ मा हुने संयुक्त बैठकको तयारीका साथै नेपाली श्रमिक लक्षित तालिम केन्द्र स्थापनाका विषयमा छलफल भएको थियो । साउदी अरेबियासँगको सचिवस्तरीय बैठकमा द्विपक्षीय श्रम सम्झौता, श्रमिकको क्षमता परीक्षण प्रणालीमा साउदी सरकारको सहयोग लिने, नेपाली श्रमिक लक्षित तालिम केन्द्र स्थापनाका विषयमा छलफल भएको थियो ।

यस्तै मलेसियासँगको सचिवस्तरीय बैठकमा संयुक्त समितिको बैठक छिटो आयोजना गर्ने, सामाजिक सुरक्षाको दायरा वृद्धि गर्ने र नेपाली श्रमिकको मृत्युको कारण तथा रोकथामका साथै मलेसियामा मृत्यु भएका श्रमिकको शव नेपाल ल्याउन सहजीकरण गर्ने विषयमा छलफल भएको बैठकमा सहभागी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव डा थानेश्वर भुसाालले जानकारी दिनुभयो ।