शुक्रबार द्वन्द्वमा यौन हिंसा उन्मुलनका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले पीडित महिलाहरूको आत्मविश्वास पहिलेभन्दा बलियो भए पनि ट्रमा जीवनभर साथ रहने बताएकी छन् ।

उनले भनिन्, ‘केही पाएर होइन, हाम्रो आत्मागत अवस्था अलि बलियो भएको छ । हामी अलि स्टेबल भएका छौँ । यसको मतलव ट्रमाबाट मुक्त भयौँ भन्ने होइन । ट्रमा हाम्रो साथी हो, यो जिन्दगीभरी हुन्छ । ट्रमालाई थोरै जितिरहेका छौँ ।’

उनले केही उपलब्धि हासिल भएपनि सबै काम पूर्ण रूपमा सन्तोषजनक नभएको बताउँदै इतिहाससँगै सुधारका प्रक्रियाहरू अघि बढिरहेकाले निरन्तर प्रयास आवश्यक रहेको धारणा व्यक्त गरिन् ।

Nepal Telecome

विगतमा यौन हिंसापीडित करिब तीनसय महिलाको स्वास्थ्य उपचारका लागि विशेष प्रक्रिया अगाडि बढाइएको उल्लेख गर्दै उनले त्यससम्बन्धी निर्णय मन्त्रिपरिषद्बाट पूर्ण रूपमा पारित वा कानुनी रूपमा प्रमाणीकरण नभएको उल्लेख गरिन् ।

‘विगतको सरकारले मन्त्रीपरिषद्बाट पारित गरेको रहेनछ । प्रमाणीकरण पनि भएको रहेनछ । कानुनमा पनि थिएन, उनले भनिन्, ‘तर हामीले तीनसय जना दिदीबहिनीको स्वास्थ्य उपचारको लागि प्रक्रिया अगाडि बढाएका थियौं । अहिले पनि त्यही कार्ड लिएर सरकारी अस्पताल जानुहुन्छ । धेरैको ज्यान बचेको छ ।’ उनले त्यही कार्ड प्रयोग गरी पीडित महिलाहरूले अझै सरकारी अस्पतालबाट उपचार गरिरहेको बताइन् ।